न पृष्ठभूमि, न अनुभव, न योजना, न सपना, न सार्वजनिक परीक्षण । नेपालगञ्जमा यतिबेला एउटा अनौठो जात्रा चलिरहेको छ । फेसबुकका भित्ताहरूमा मेयरका उम्मेदवारहरूको लर्को छ । कसैले आफै त कसैले आफ्नाहरूमार्फत् मेयरको उम्मेदवार करार गरिरहेका छन् ।
डिजिटल दुनियाँमा आइरहेका अधिकांशका दावी फोटाहरू कृत्रिम बौद्धिकता (एआई) निर्मित छन् । प्रविधि सस्तो हुँदा प्रचार सस्तो भएको छ र मेयर बन्नेहरूको आकांक्षा झनै सस्तो बनेको छ ।
लोकतन्त्रमा मेयरको आकांक्षा राख्नेहरूको जुलुस लाग्नु अन्यथा होइन, सुन्दर पक्ष हो । तर आकांक्षीहरूको योगदान, अनुभव, उद्देश्य, योजना, पृष्ठभूमि र मतदाताहरू माझको पहिचान मूल कुरा हो ।
सहरका भित्ता वा सोसल प्लेटफर्मका पेजमा ब्यानर देखिनु सार्वजनिक जानकारी दिनु होइन । नाम र तस्बिर देखिनु सार्वजनिक परीक्षणमा उत्रनु होइन । उम्मेदवारीको चर्चा चल्नु र नागरिकसँग उनीहरूका समस्या र चाहना बारे घुलमिल हुनु अनि सहरको दूर दिशाको खाकाबारे छलफल हुनु नितान्त भिन्न कुरा हुन् । हुनु पर्ने के हो त ? भित्ते उम्मेदवार कि नागरिक संवाद ?
मेरो नेपालगञ्ज आवतजावत पछिल्लो समय केही कम भएको छ । तै पनि नेपालगञ्जका सवालहरूमा चासो हुन्छ । काठमाडौंमा पनि नेपालगञ्जियाहरू भेट हुँदा चर्चा हुन्छ । यसपालि नेपालगञ्जमा दशैं मनाउन आउँदा मैले आउने स्थानीय चुनावका लागि मेयरका आकांक्षीहरू, प्रमुख दलका सम्भावित अनुहारहरू र उनीहरूको सार्वजनिक छवि र नेपालगञ्जलाई दिशा दिनसक्ने सामर्थ्यबारे धेरै जनासँग कुरा गरेँ ।
झण्डै २५ जना मेयरका आकांक्षी मैदानमा देखिँदा पनि ‘वाह फलानो चाहिँ गज्जब गर्न सक्ने हो है’ भन्ने एकजना पनि नभएको अधिकांशको टिप्पणी सुन्दा दिक्क लाग्यो । उदेकलाग्दो कुरा त नयाँ भनिएका वा पुराना हुन्, प्रमुख दलमा पनि नेपालगञ्जलाई योजनावद्ध दिशा दिन सक्ने अनुहार सुनिएन ।
यो आलेखको ध्येय कुनै पनि व्यक्तिलाई योग्य वा अयोग्यको जामा भिराउनु होइन । तर, सक्षम र सही व्यक्ति छानिनका लागि चिन्तन र चर्चा होस् भन्नका लागि अवश्य हो । आलेखमार्फत् एउटा प्रश्न उठाउनका लागि हो, सार्वजनिक पदको आकांक्षा राख्ने व्यक्तिको सार्वजनिक परिचय र योजना नागरिकसमक्ष स्पष्ट हुनुपर्दैन ?
सहरका भित्ता वा सोसल प्लेटफर्मका पेजमा ब्यानर देखिनु सार्वजनिक जानकारी दिनु होइन । नाम र तस्बिर देखिनु सार्वजनिक परीक्षणमा उत्रनु होइन । उम्मेदवारीको चर्चा चल्नु र नागरिकसँग उनीहरूका समस्या र चाहना बारे घुलमिल हुनु अनि सहरको दूर दिशाको खाकाबारे छलफल हुनु नितान्त भिन्न कुरा हुन् । हुनु पर्ने के हो त ? भित्ते उम्मेदवार कि नागरिक संवाद ?
सहरलाई आर्थिक रूपमा सबल बनाउने, रोजगारी सिर्जना गर्ने, पर्यटन र व्यापारको सम्भावना विस्तार गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र भविष्यको जनसंख्या तथा वातावरणीय चुनौतीलाई सम्बोधन गर्ने योजना पनि चाहिन्छ । नेपालगञ्जको हकमा यस्ता दीर्घकालीन दृष्टिकोणमाथि गम्भीर बहस आवश्यक छ ।
मेयरको पद व्यक्तिगत महत्त्वाकांक्षा प्रदर्शन गर्ने मञ्च मात्रै हो त ? यो लाखौं नागरिकको दैनिक जीवन, सार्वजनिक बजेट र सहरको भविष्यसँग जोडिएको जिम्मेवारी पनि होइन र ? मेयर बन्न चाहनेहरूसँग नेपालगञ्जलाई कस्तो बनाउने र कसरी बनाउने भन्ने सवालको विश्वसनीय जवाफ छ कि छैन ?
कुनै व्यक्तिले मेयर बन्ने इच्छा राख्नु लोकतान्त्रिक अधिकार हो । त्यसमा आपत्ति गर्नुपर्ने कारण छैन । समस्या त्यतिबेला सुरु हुन्छ, जब पदको आकांक्षा सार्वजनिक गर्ने काम नै उम्मेदवारीको सम्पूर्ण परिचय बन्छ । न नगरको योजना, न विकासको स्पष्ट दृष्टिकोण, न विगतको कामको हिसाब, न टिमको परिचय । केवल तस्बिर, ब्यानर र सामाजिक सञ्जालका पोस्ट । यस्तो प्रवृत्तिलाई उम्मेदवारीको प्रतिस्पर्धा भन्ने कि मेयर पदको ‘डिजिटल लिलामी’ ?
नेपालगञ्ज नेपालको पुराना र चर्चित सहरमध्ये एक हो । पश्चिम नेपालको व्यापारिक केन्द्र, नेपाल–भारत सीमासँग जोडिएको महत्त्वपूर्ण बजार र धार्मिक तथा सांस्कृतिक विविधताको साझा थलो हो । मध्यपश्चिमका पहाडी जिल्लादेखि तराईसम्मका मानिसको आर्थिक, शैक्षिक र सामाजिक जीवनसँग यसको गहिरो सम्बन्ध छ ।
नेपालगञ्ज नगर पञ्चायतको स्थापना विसं २०१७ मा भएको हो । पछि यसको नाम नेपालगञ्ज नगरपालिका रह्यो । बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि २०४९ सालमा विजयकुमार गुप्ता नगरप्रमुख निर्वाचित भए । उनले चक्रपथलगायतका दीर्घकालीन योजनाको अवधारणा अघि सारेका थिए । हालको न्यूरोड उनकै योजना थियो । त्यसपछि २०५४ सालमा धवलशमशेर राणा नगरप्रमुख निर्वाचित भए । उनी २०७४ सालमा फेरि नगरप्रमुख बने र २०७९ सम्म कार्यकाल सम्हाले ।
विकासे मेयरको उपाधि पाएका धवलले वाटरपार्क निर्माणबाहेक मौलिक र उनलाई मात्र जस जाने केही पनि गर्न सकेनन् । परियोजनाहरूले चिल्लो घसेका सडक र ढलको जस उनीलाई दिनु अनुचित हुन्छ । उनी आउनु अघिदेखि चालू रहेका परियोजनाका काममा नगरको योगदान नभएपछि जसको पगरी उनलाई लाउन मिलेन । यसबीच बसपार्क सुधार, रानी तलाउ सुधार जस्ता काम भए होलान् ।
तर, यी कामको चर्चाभन्दा महत्त्वपूर्ण सवाल के हुन् भने उनले सहरलाई कुन दिशातर्फ लगे ? त्यसका लागि सार्वजनिक संवाद र विज्ञहरूको बुद्धि प्रयोग गरी दीर्घसोचको कुनै दस्तावेज तयार गरी त्यस अनुसार काम गरे कि जे सुर लाग्यो त्यही गरे ? नेपालगञ्जको आगामी अनुहार कस्तो हुन्छ ? आगामी पहिचान के हुन्छ ?
त्यसैले अब आउने मेयरसँग कम्तिमै यी प्रश्नको उत्तर हुनुपर्छ । मेयर हुन चाहनेहरूसँग पनि हुनुपर्छ ।
यसका साथै सहरलाई आर्थिक रूपमा सबल बनाउने, रोजगारी सिर्जना गर्ने, पर्यटन र व्यापारको सम्भावना विस्तार गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र भविष्यको जनसंख्या तथा वातावरणीय चुनौतीलाई सम्बोधन गर्ने योजना पनि चाहिन्छ । नेपालगञ्जको हकमा यस्ता दीर्घकालीन दृष्टिकोणमाथि गम्भीर बहस आवश्यक छ ।
धवलशमशेर राणाका दुवै कार्यकालबारे मूल्याङ्कन गर्दा उनको जुन राष्ट्रिय पहिचान र पारिवारिक रवाफ थियो त्यसबाट नेपालगञ्जलाई उनले कुनै ठूलो र दीर्घ लाभ दिन नसकेको साँचो हो । नेपालगञ्जको सार्वजनिक बहसमा हाइमास्ट बत्ती, सडक र पार्कजस्ता देखिने संरचनाले बढी स्थान पाएका छन् । ती कामको आफ्नै महत्त्व छ । तर एउटा सहरको विकासलाई बत्तीको उचाइ र सडकको लम्बाइले मात्र नाप्न मिल्दैन ।
नेपालगञ्जलाई आगामी २० वर्षमा कस्तो सहर बनाउने ? यसको व्यापारिक सम्भावनालाई कसरी उपयोग गर्ने ? सीमावर्ती अर्थतन्त्रबाट स्थानीय व्यवसायी र नागरिकले कसरी बढी लाभ लिने ? युवाले आफ्नै सहरमा रोजगारी पाउने वातावरण कसरी बनाउने ? गर्मी, धुलो, फोहोर, अव्यवस्थित सहरीकरण र सार्वजनिक स्थानको अभावलाई कसरी सम्बोधन गर्ने ? यी प्रश्नको जवाफ दिने सहरको साझा गुरुयोजना कहाँ छ ? बनेको छ भने त्यसको कार्यान्वयन कति भयो ? नागरिकले त्यसबारे कति जानकारी पाएका छन् ? नागरिकको अपनत्व छ कि छैन ? पछिल्ला मेयरहरूको वास्तविक परीक्षा यस्तै प्रश्नबाट हुनुपर्छ ।
धवलशमशेरपछि २०७९ सालमा प्रशान्त विष्ट नगरप्रमुख निर्वाचित भए । उनले सुरू गरेको हनुमानको विशाल मूर्तिको निर्माणबाहेक अरू नगरबासीले याद गर्ने उनका काम खासै देखिएनन् । सहरको दीर्घकालीन विकास रणनीतिका साथ उनले पनि काम गर्न सकेनन् भन्ने गुनासो जायज छ ।
सहरले निजी लगानीलाई कसरी व्यवस्थित गर्ने ? त्यसबाट सिर्जित आर्थिक लाभ स्थानीय नागरिकसम्म कसरी पुर्याउने ? सहरको पहिचानलाई केवल बजार र मनोरञ्जनमा सीमित नगरी थप विविध कसरी बनाउने ? नगर नेतृत्वले उत्तर दिनुपर्ने प्रश्न यिनै हुन् ।
किनभने सहरको सामान्य रूप परिवर्तन भैरहनु र सहरले आफ्नो भविष्यको दिशा पहिल्याउनु फरक कुरा हुन् । कहिलेकाहीँ समयको बहाव, प्रविधि, नागरिकको दबाब, निजी क्षेत्रको लगानी र सामाजिक परिवर्तनले पनि सहरको स्वरूप बदल्छ । त्यसको सम्पूर्ण श्रेय नगर नेतृत्वलाई दिन मिल्दैन ।
नेपालगञ्जको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । व्यापार, होटल, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सेवामूलक व्यवसायले सहरलाई चलायमान बनाएका छन् । स्थानीय उद्यमीले जोखिम लिएर लगानी गरेका छन् ।
उनीहरूले रोजगारी सिर्जना गरेका छन् र नेपालगन्जलाई क्षेत्रीय बजारका रूपमा टिकाइराख्न योगदान दिएका छन् । तर निजी क्षेत्रको आर्थिक सक्रियता र सहरको सार्वजनिक पहिचान एउटै कुरा होइनन् ।
नेपालगञ्जलाई व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । तर के यसलाई व्यवस्थित स्वास्थ्य सेवा, धार्मिक तथा सांस्कृतिक पर्यटन, सीमावर्ती व्यापार, स्थानीय खाद्य संस्कृति वा क्षेत्रीय हबका रूपमा थप स्थापित गर्न सकिँदैन ? के यहाँको मौलिकता, इतिहास र सांस्कृतिक विविधतालाई आर्थिक अवसरसँग जोड्न सकिँदैन ?
धवलशमशेर राणाको सपनाअनुसार जुन पङ्तिकारसँगको कुराकानीमा उनले नेपालगञ्जको पहिचान बनाउने बताएका थिए, नेपालगञ्जमा स्पा, क्यासिनो र मनोरञ्जनसम्बन्धी व्यवसाय पनि देखिन्छन् । यस्ता व्यवसायको अस्तित्व मात्रले सहरले लाभ पाएको प्रमाणित गर्दैन । तिनको रोजगारी, स्थानीय खरिद, कर योगदान, नियमन र सामाजिक प्रभावबारे तथ्य आवश्यक हुन्छ ।
सहरले निजी लगानीलाई कसरी व्यवस्थित गर्ने ? त्यसबाट सिर्जित आर्थिक लाभ स्थानीय नागरिकसम्म कसरी पुर्याउने ? सहरको पहिचानलाई केवल बजार र मनोरञ्जनमा सीमित नगरी थप विविध कसरी बनाउने ? नगर नेतृत्वले उत्तर दिनुपर्ने प्रश्न यिनै हुन् ।
सामाजिक सञ्जालमा मेयर पदका दाबेदार सार्वजनिक हुने क्रम बढ्नुलाई लोकतान्त्रिक सहभागिताको एउटा सुन्दर स्वरूप मान्न सकिन्छ । नयाँ पुस्ता, स्वतन्त्र नागरिक र फरक पृष्ठभूमिका व्यक्तिले नेतृत्वको आकांक्षा राख्नु स्वाभाविक हो । तर उम्मेदवारीको घोषणा र सार्वजनिक नेतृत्वको तयारी फरक विषय हुन् ।
कसैले मेयर बन्न चाहन्छ भने नागरिकले उसका बारेमा जान्न पाउनुपर्छ । उसले विगतमा के काम गर्यो ? सार्वजनिक स्रोत वा संस्थाको जिम्मेवारी सम्हालेको अनुभव छ ? सहरका समस्याबारे उसको बुझाइ के छ ? उसले अघि सार्ने योजना कति व्यावहारिक छन् ? त्यसको लागत र स्रोत कहाँबाट जुटाउने ? कार्यान्वयनका लागि कस्तो टिम बनाउने ? नागरिकसँग जवाफदेही रहने प्रणाली के हुनेछ ? यी प्रश्न कुनै व्यक्तिको शैक्षिक प्रमाणपत्र वा राजनीतिक पृष्ठभूमिमा मात्र सीमित छैनन् ।
औपचारिक शिक्षा कम भएको व्यक्तिले पनि उत्कृष्ट नेतृत्व दिन सक्छ । नयाँ व्यक्तिले पनि पुरानोभन्दा फरक दृष्टिकोण ल्याउन सक्छ । राजनीतिक दलसँग आबद्ध हुनु वा स्वतन्त्र रहनु आफैमा योग्यताको प्रमाण होइन । मुख्य कुरा हो, सार्वजनिक जिम्मेवारीका लागि तयारी, स्पष्ट दृष्टिकोण, काम गर्ने क्षमता र नागरिकप्रतिको जवाफदेहिता ।
एआईबाट आकर्षक तस्बिर बनाउन सकिन्छ । केही मिनेटमै ब्यानर तयार गर्न सकिन्छ । फेसबुकमार्फत् हजारौं मानिससम्म पुग्न पनि सकिन्छ । तर प्रविधिले नगरको फोहोर व्यवस्थापन गर्दैन, बजेटको प्राथमिकता आफै निर्धारण गर्दैन र बेरोजगार युवाका लागि रोजगारीको अवसर सिर्जना गर्दैन । त्यसका लागि योजना, स्रोत, संस्था र निरन्तर काम चाहिन्छ ।
उम्मेदवारको संख्या बढ्छ तर सार्वजनिक बहसको गुणस्तर बढ्दैन भने चिन्ताको विषय हो । योजना नभएका, सार्वजनिक प्रश्नको जवाफ दिन तयार भै नसकेका र आफ्नो प्रस्तावको व्यावहारिकता देखाउन नसक्ने उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई केवल प्रचारको भिडमा बदल्न सक्छ । त्यसले नागरिकलाई विकल्पको वास्तविक अन्तर बुझ्न कठिन बनाउँछ ।
मेयर फेरिन सक्छन्, राजनीतिक दल फेरिन सक्छन् र चुनावी नारासमेत फेरिन सक्छन् । तर सहरको विकासको दिशा हरेक पाँच वर्षमा शून्यबाट सुरु हुनु हुँदैन । नेपालगञ्जको अबको चुनावी बहसमा कसले कति आकर्षक तस्बिर बनायो भन्ने होइन, कसले कस्तो सहर बनाउने योजना ल्यायो भन्ने प्रश्न अगाडि आउनुपर्छ ।
निर्वाचन आफैमा खर्चिलो हुन्छ । यो जनताको कर र विकास बजेट काटेर व्यवस्थापन हुन्छ । मतपत्र छापिन्छन्, कर्मचारी परिचालन हुन्छन् र सुरक्षा तथा व्यवस्थापनमा राज्यको स्रोत उपयोग हुन्छ । त्यसैले उम्मेदवारीको स्वतन्त्र अधिकारसँगै सार्वजनिक जिम्मेवारीको चेतना पनि आवश्यक छ । यसको अर्थ कसैले उम्मेदवार बन्नुअघि कुनै निकायबाट अनुमति लिनुपर्छ भन्ने होइन । अर्थ यति हो कि उम्मेदवार आफैले नागरिकसमक्ष आफ्नो योग्यता, योजना र प्रतिबद्धता प्रस्तुत गर्न तयार हुनुपर्छ । नत्र मतपत्रको आकार र खर्चको आकार मात्रै बढ्छ ।
नगरप्रमुख बन्ने आकांक्षा राख्ने सबैले कम्तीमा एउटा सार्वजनिक दस्तावेज ल्याउन् । जसमा पाँच वर्षमा गर्ने मुख्य काम, प्राथमिकता, लागतको अनुमान, स्रोत, समयसीमा र नतिजा मापन गर्ने आधार स्पष्ट होस् । सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि वा त्यससँगै नगरको वास्तविक समस्या र समाधानबारे छलफल सुरु गरून् ।
नागरिकले पनि केवल तस्बिर, पार्टी, जातीय वा व्यक्तिगत सम्बन्धका आधारमा होइन, सार्वजनिक प्रतिबद्धता र विगतको कामका आधारमा प्रश्न वा धारणा राखून् । नगरको फोहोर व्यवस्थापन, ढल निकास, सार्वजनिक यातायात, पैदलयात्रीको सुरक्षा, हरियाली, गर्मीको प्रभाव, व्यवस्थित बजार, युवाको रोजगारी र सीमावर्ती व्यापारको सम्भावनालाई एउटै सहरी विकास योजनामा समेट्न पहल लिउन् ।
हो, नेपालगञ्जको पहिचान के हो र भविष्यमा के बनाउने ? यो प्रश्नको उत्तर कुनै एक मेयरले एक्लै दिन सक्दैन । नागरिक, निजी क्षेत्र, विज्ञ, नागरिक समाज र स्थानीय सरकारबीच छलफल हुनुपर्छ । तर त्यस छलफललाई दिशा दिने र निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी नगर नेतृत्वकै हो ।
मेयर फेरिन सक्छन्, राजनीतिक दल फेरिन सक्छन् र चुनावी नारासमेत फेरिन सक्छन् । तर सहरको विकासको दिशा हरेक पाँच वर्षमा शून्यबाट सुरु हुनु हुँदैन । नेपालगञ्जको अबको चुनावी बहसमा कसले कति आकर्षक तस्बिर बनायो भन्ने होइन, कसले कस्तो सहर बनाउने योजना ल्यायो भन्ने प्रश्न अगाडि आउनुपर्छ ।
फेसबुकमा मेयरको दाबेदारी सार्वजनिक गर्न सबै स्वतन्त्र छन् । तर, नेपालगञ्जलाई मेयरको डिजिटल लिलामी होइन, सहरको भविष्यबारे खुला बहस सुरू गर्दा राम्रो होला । बहसमा आफ्नो योजना र विचार मार्फत् जसले नगरवासीको मन जित्छ उसैले हाँक्ला नगरको बागडोर । फेसबुकमा मेयर चाल्न खोज्ने नेपालगञ्जका बौद्धिक र अगुवा ठान्नेहरूले यतातिर सोच्नु उचित होला कि !