नेपाल विश्वकै ‘वेलनेस हब’ बन्ने बाटोमा

योग र आरोग्य पर्यटन अबको सहारा

शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौंमा आइतबार आयोजना गरेको १२अ‍ौं विश्व योग दिवस मूल समारोहमा योगाभ्यास गर्दै सहभागीहरू । तस्बिर : हरिराम भेटुवाल / रासस

आधुनिक चिकित्सा पद्धतिले शारीरिक रोगहरूको निराकरणमा अतुलनीय प्रगति हासिल गरे तापनि आन्तरिक बेचैनी, खराब आचरणबाट सृजित समस्याहरू र आत्मिक शून्यताको पूर्ण समाधान ठम्याउन सकेको देखिँदैन । 

यही धरातलमा टेकेर हाल विश्व परिवेशमा आरोग्य पर्यटनको दायरा निकै द्रुत  गतिमा  फैलिँदै गइरहेको अवस्था छ । आधुनिक जीवनसँगै धेरै मान्छेहरूको जीवनशैली परिवर्तन भएको छ । जसका कारणले मान्छेहरूमा धेरै रोगहरू उत्पन्न भएका छन् । सँगसँगै जीवनको गुणस्तर नै कम भएको अवस्था छ । यसरी आकुलव्याकुल भएर मान्छेहरू अब यात्राका लागि नै आरोग्यता रोज्ने परिस्थिति बनेको छ । मानिसहरू धेरै कारणले यात्रा गर्ने गर्छन् ।

कोही सौन्दर्यका लागि यात्रा गर्छन् कोही ट्रेकिङका लागि यात्रा गर्छन् कोही खेलकुदका लागि यात्रा गर्छन् । भने कोही चाहिँ आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन र रोगहरु कम गर्नका लागि पनि यात्रा गर्छन् । स्वास्थ्यका लागि गरिने यात्रालाई आरोग्य पर्यटन भनिन्छ । आरोग्य पर्यटनले रोगको उपचार मात्र नभएर व्यक्तिको स्वास्थ्य रक्षा गर्न जीवनशैली सुधार गर्न र जीवनको गुणस्तर वृद्धि गर्नलाई सहयोग गरिरहेको हुन्छ । ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार, आरोग्य पर्यटन भनेको आफ्नो व्यक्तिगत कल्याण र स्वास्थ्यलाई कायम राख्न वा बढावा दिन गरिने यात्रा हो । यो भनेको शारीरिक मानसिक भावनात्मक तथा आध्यात्मिक हिसाबले स्वास्थ्यको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले गरिने यात्रा हो । आरोग्य पर्यटनअन्तर्गत योग ध्यान आयुर्वेद प्राकृतिक चिकित्सा स्वस्थ आहार, स्पा डिटक्सजस्ता गतिविधिहरू पर्दछन् ।

पछिल्लो समय आरोग्य पर्यटन निकै विस्तार भएको छ । २०३० सम्म यसले विश्व पर्यटनको २० देखि २५ प्रतिशतसम्म हिस्सा ओगट्ने आकलन गरिएको छ । आरोग्य पर्यटन भनेको स्वास्थ्य पर्यटनकै एउटा अंश पनि हो । आरोग्य पर्यटनको बजार तथ्याङ्क हेर्दा, आरोग्य पर्यटनमा नेपाल १४३ देशमध्ये ९१औं स्थानमा रहेको छ। 

नेपालको आरोग्य पर्यटन अर्थतन्त्र करिब २.०२ अर्ब अमेरिकी डलर बराबर छ । आरोग्य पर्यटकले अन्य पर्यटकको तुलनामा ३० देखि ३५ प्रतिशत बढी खर्च गर्ने अध्ययनले देखाएको छ । आरोग्य पर्यटनमा योगको निकै ठूलो भूमिका छ । योगले व्यक्तिलाई स्वस्थ रहन र रोग भइसकेको अवस्थामा त्यसको व्यवस्थापन गर्न सहयोग गर्छ। त्यसैले आजकाल आरोग्यका लागि यात्रा गर्ने क्रममा योग एउटा अभिन्न अंश पनि बनेको छ । योगले आरोग्य पर्यटनमा निम्न कुराहरूमा सहयोग गर्न सक्छ ।

मानसिक आरोग्यता र तनावबाट मुक्ति 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले तनाव एक महामारीको रुपमा रहेको छ । योसँगै हरेक व्यक्तिमा तनाव एन्जाइटी डिप्रेसनजस्ता मानसिक समस्याहरु देखिँदै आएका छन् । फलस्वरूप धेरै आरोग्य पर्यटनमा तनाव व्यवस्थापन र मानसिक आरोग्यता महत्त्वपूर्ण विषय बनेको छ । योगले मानसिक तनाव कम गर्दै चिन्ता रोग डिप्रेसनजस्ता रोगहरूलाई पनि कम गर्न सहयोग गर्छ भन्ने विभिन्न अनुसन्धानहरु छन् । रोगले खुसी हर्मोन बढाउने तथा तनाव हर्मोनलाई कम गर्ने गरी यस्ता अवस्थाहरूमा फाइदा पुर्याउने प्रशस्त अध्ययनहरू भएका छन् ।  यसैलाई आत्मसाथ गरेर धेरै ठाउँमा योगका रिटिटहरू पनि सञ्चालन भएका छन् जसले मानसिक आरोग्यता र तनावको मुक्तिका लागि विशेष कार्य गर्दछन् ।

जीवनशैली रूपान्तरण 

पछिल्लो समय जीवनशैली जन्य विभिन्न रोगहरू उत्पन्न भएका छन् । जीवनशैलीजन्य रोगहरूमा मधुमेह, उच्च रक्तचाप,  मोटोपन, शरीरका विभिन्न दुखाइहरू,  डिप्रेसन, एन्जाइटी, पेटका रोगहरू आदि पर्दछन् । यी रोगहरूको प्रमुख कारण हेर्दा जीवनशैली नराम्रो हुनु नै प्रमुखका अवस्था छ । यसका लागि मान्छेहरूलाई जीवनशैली परिवर्तन गर्नुपर्छ भन्ने थाहा छ तर जीवनशैली परिवर्तन गर्नलाई अप्ठ्यारो छ र त्यसका लागि चाहिँ एकदमै शान्त वातावरणमा मान्छेले कसरी जीवनशैली व्यवस्थापन  गर्ने भन्ने जस्ता कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ । अहिलेको जीवनशैली व्यवस्थापन भनेको डर मा आधारित छ र तिमीले यो यो जीवनशैली परिवर्तन गरेनौ भने यो यो रोग लागेर मर्न सक्छौं भन्ने डरले चाहिँ जीवनशैली व्यवस्थापन पूरै दीर्घकालीन रुपमा व्यवस्थित हुँदैन भन्ने छ । योगले खुसीमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ जसले गर्दा चाहिँ यो दीर्घकालीन रुपमा फाइदाजनक छ भनेर प्रमाणित भएको अवस्था छ । त्यसैले पछिल्लो समयमा आफ्नो जीवनशैलीलाई रूपान्तरण गर्नका लागि योगको भूमिकालाई लिएर विभिन्न योग रिट्रीट केन्द्र तथा आश्रममा आउने चलन छ । योगले रोगरोधक, स्वास्थ्यप्रवर्द्धक, उपचारात्मक, पुनःस्थापनात्मक चारै पक्षमा कार्य गर्छ । नेपाल आरोग्य पर्यटनको हब बन्ने सम्भावना उच्च छ । 

नेपालको भौगोलिक विविधताअन्तर्गत तराईको न्यानो फाँटदेखि मध्य पहाडको समशितोष्ण र हिमाली भेगको स्वच्छ शीतल वातावरण योग साधनाका लागि बरदान सावित छन् । विश्वव्यापी आरोग्य पर्यटनको रङ्गमञ्चमा नेपालले योगलाई आफ्नो मुख्य पहिचानअर्थात् ब्रान्डका रूपमा स्थापित गर्न सक्ने प्रवल सम्भावना देखिन्छ । वर्षको बाह्रै महिना ऋतुअनुसारका फरक–फरक प्राकृतिक परिवेशमा योग रिट्रिटहरू सञ्चालन गर्न सकिने अनुपम पर्यावरणीय धरातल नेपालसँग सुरक्षित छ ।

उच्चस्तरको साधना 

हिमालयको काखमा बसेर गरिने योग र ध्यानलाई विश्वका धेरै साधकहरूले एउटा विशेष अवसर र सौभाग्यका रूपमा लिने गरेका छन् । नेपाल बुद्ध र विभिन्न ऋषिमुनिहरूको साधना गर्ने स्थल भएकाले यहाँको वातावरणमा नै बेग्लै प्रकारको आध्यात्मिक ऊर्जा पाइन्छ । यसले गर्दा आरोग्यताका लागि यात्रा गर्ने विदेशी पर्यटकहरू यहाँ निकै आकर्षित हुने गरेका छन् । लुम्बिनी, पोखरा, काठमाडौंका उच्च स्थान र हिमाली भेगमा विशेष योग रिट्रीट तथा आरोग्य केन्द्रहरू निर्माण गर्न सकेमा नेपालमा उच्चस्तरका धेरै पर्यटक ल्याउन सकिने प्रशस्त आधारहरू छन् ।

 प्राकृतिक र वैकल्पिक उपचार सँगको संयोजन 

आरोग्य पर्यटनभित्र आयुर्वेद, प्राकृतिक चिकित्सा र स्पा थेरापीहरू पर्दछन् । योग यी सबै विधाको परिपूरक हो । उदाहरणका लागि, आयुर्वेदको डिटक्स ९पञ्चकर्म० गरिरहेको व्यक्तिलाई शरीर हलुका बनाउन र ऊर्जा प्रवाह राम्रो गर्न योग आसनहरू गराइन्छ । यसले गर्दा आरोग्य पर्यटनका प्याकेजहरू अझ बढी प्रभावकारी बन्छन् । 

दीर्घकालीन र गुणस्तरीय पर्यटनको प्रवर्द्धन 

आरोग्य पर्यटनको एक महत्त्वपूर्ण अवयवका रूपमा योगले पर्यटन क्षेत्रको आर्थिक सबलीकरणमा विशेष योगदान दिइरहेको पाइन्छ । सामान्यतः अन्य पर्यटकहरू तीनदेखि पाँच दिनसम्म मात्र भुल्ने गरे तापनि योग र आरोग्यताका अभ्यासीहरू प्रायः एक हप्तादेखि एक महिना वा सोभन्दा लामो अवधिसम्म बस्ने गर्छन् । आफ्नो स्वास्थ्य र खानपानप्रति सचेत रहने यस्ता पर्यटक स्तरीय सेवाका लागि बढी खर्च गर्न इच्छुक हुने हुँदा यसबाट पर्यटन उद्योगले उल्लेख्य लाभ लिन सक्छ । योगका लागि शान्त र नैसर्गिक वातावरण अपरिहार्य हुने भएकाले यस्ता केन्द्रहरू सहरभन्दा टाढा ग्रामीण वा जङ्गलको निकट क्षेत्रमा स्थापना हुन्छन् । यसबाट पर्यटकीय लाभ स्थानीय स्तरसम्म पुगी ग्रामीण क्षेत्रमा रोजगारीका अवसरहरू सृजना हुन्छन् । सरकारले नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने १०० बुँदे कार्ययोजनामा ‘योग, ध्यान, आयुर्वेद’ ब्रान्ड बनाऊने घोषणा गरेको छ, नेपाल आरोग्य वर्ष २०२७ ले यो ब्रान्ड बनाउँदैछ । योग आरोग्य पर्यटनको मूलमन्त्र हो ।

प्रशस्त सम्भावनाहरूका बाबजुद आरोग्य पर्यटनको रङ्गमञ्चमा योगको भूमिकालाई संस्थागत र सुव्यवस्थित तुल्याउन केही चुनौती तथा अवरोधहरू विद्यमान देखिन्छन् ।

अन्तर्राष्ट्रिय प्रमाणीकरण र ब्रान्डिङको चुनौती

नेपालमा योग प्रशिक्षणका अनेकौं केन्द्रहरू सञ्चालित भए तापनि तिनलाई वैश्विक मापदण्डअनुरूपको ’वेलनेस रिसोर्ट’ वा प्राज्ञिक एकेडेमीको रूपमा चिनाउन सकिएको छैन । 

विशिष्टीकृत वैज्ञानिक पाठ्यक्रमको अभाव

परम्परागत आसन र अभ्यासमा मात्र सीमित नभई विदेशी साधकहरूको शारीरिक तथा मानसिक अभिलाषा (जस्तैः एन्टि–एजिङ, शोधन प्रक्रिया वा उपचारात्मक योग) लाई सम्बोधन गर्ने वैज्ञानिक प्याकेजहरूको कमी महसुस गरिएको छ ।

पूर्वाधार विकास र सहज पहुँच

योग साधनाका लागि उपयुक्त एकान्त र शान्त गन्तव्यहरूसम्म पुग्ने यातायात सञ्जाल भरपर्दो नहुँदा उच्चस्तरका अन्तर्राष्ट्रिय पर्यटकहरू यस्तो सेवा लिन सङ्कोच मान्ने परिस्थिति छ ।

विश्व परिवेशमा आरोग्य पर्यटन केवल सौखिन विलासिता मात्र नभई दैहिक एवं मानसिक सन्तुलन कायम राख्ने अपरिहार्य आवश्यकताका रूपमा उदय भएको छ । यस सन्दर्भमा, यस मानवीय अभिलाषालाई सम्बोधन गर्ने सर्वोत्कृष्ट एवं वैज्ञानिक कडीका रूपमा योगको भूमिका अद्वितीय देखिन्छ ।

आरोग्य पर्यटनको यस बृहत्तर रङ्गमञ्चमा योगलाई आधारभूत स्तम्भका रूपमा प्रतिष्ठित गर्न नेपालले ‘हिमालयन वेलनेस’ को नवीन अवधारणालाई आत्मसाथ गर्नु श्रेयस्कर देखिन्छ । राज्यको नीतिगत तहबाटै योग पर्यटनलाई उच्च प्राथमिकतामा राख्ने, वैश्विक मापदण्डका वेलनेस रिसोर्टहरूलाई प्रवद्र्धन गर्ने र आधुनिक चिकित्सा प्रणालीसँग योग विज्ञानको तादात्म्य मिलाउँदै एकीकृत चिकित्सा पद्धतिको मार्ग प्रशस्त गर्नसकेमा यसले राष्ट्रिय अर्थतन्त्र र जनस्वास्थ्यको क्षेत्रमा युगान्तकारी रूपान्तरण सूत्रपात गर्न सक्ने प्रवल आधारहरू सुनिश्चित गर्दछ ।(लेखक योग विशेषज्ञ हुन्‌)
 

Share News