एभरेष्ट बैंक र मोको एपबीच सम्झौता, ग्राहकले अब एटिएम कार्ड बोक्नु नपर्ने
काठमाडौं । मोको डिजिटल वालेट र एभरेष्ट बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात एभरेष्ट बैंकका ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे माध्यमबाट १५ सयभन्दा बढि मर्चेन्टकोमा भक्तानी समेत गर्न सक्नेछन् । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ । एभरेष्ट बैंकले हालसम्म करिब १२ लाख ग्राहकहरु आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएममार्फत सेवा दिइरहेको छ ।
हिमालयन बैंकको नगद संकलन काउन्टर कान्ति बाल अस्पतालमा
काठमाडौं । हिमालयन बैंकले महाराजगंजस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो । नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् । बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवाररआफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।
एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई सुम्पियो नेतृत्व
काठमाडौं । एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई नेतृत्वमा राखेको छ । एनमबि वुमन इन लिडरसिप कार्यक्रमको आयोजना गर्दै बैंकले यस्तो उद्दघोष गरेको हो । अब सात वटा प्रदेशको ६ वटा शाखामा ब्रान्च म्यानेजरको रुपमा महिला रहने छन् । जसमा प्रदेश एकमा सोभिता पन्त, मधेशमा मल्लिका ठाकुर, बागमतीमा प्रफुल्ला मानन्धर, गण्डकीमा खिमकुमारी गुरुङ, लुम्बिनीमा ससता भुसास र सुदूरपश्चिममा नन्द कुमारी भण्डारी रहेका छन् । ७७ वटै जिल्लामा शाखा विस्तार गरेको बैंकले कूल २०१ शाखाबाट बैंकिङ्ग सेवा दिँदै आएको छ ।