कुमारी बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३० लाख थान ऋणपत्र कार्त्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत केबीएल डिबेन्चर २०८९’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै कार्त्तिक २९ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
नेपाल बैंकका कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
काठमाडाैं । नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा काठमाडाैं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल बैंक यही कार्तिक ३० गते ८६ औं वर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले कार्तिक २५ र २६ गते कर्मचारी मैत्री ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकाे थियाे । प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका थिए । यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुव दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदी एवम् ध्रुव दाहालको समूह र महिला डबल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए । बैंकले नेपालभर २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।
मंसिरमा के होला ब्याज ? निर्णय गर्न बैंकर्स संघको बैठक बस्दै
काठमाडौं । मंसिर महिनाको ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स एशोसियसन (एनबिए) को बैठक मंगलबार बिहान बस्ने भएको छ । मंसिर महिनाका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बिहान बैंकर्स संघको बैठक बोलाएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बिकासन्युजलाई जानकारी दिए । प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर निर्धारण गर्न एनबिएको बैठक बस्ने गर्छ । सोही अनुसार मंसिरका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बैठक बस्ने भएको हो । एक सीईओका अनुसार बैंकको ब्याजदर यथावत रहने सम्भावना छ । केही बैंकर्सहरु अझै ब्याजदर बढाउनु पर्ने माग गरिरहेको उनको भनाइ छ । ब्याजदर बढाउने वा नबढाउने भन्ने निर्णय भोलि बस्ने बैठकले गर्ने ती सीईओले बताए । अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ करिब ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ । ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । पछिल्लो समय ब्याजदर उच्च रहेको भन्दै घटाउन चौतर्फी दबाव रहेको छ । उद्योगी व्यवसायीहरु देशभर आन्दोलित बनेका छन् । बैंकहरुले असोज महिनामा विगत ६/७ महिनादेखि स्थिर रहेको ब्याजदर बढाएका थिए । ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । तरलता स्थिति असहज नै रहेकाले केही बैंकहरुले मंसिर महिनाका लागि पनि ब्याजदर बढाउनु पर्ने भन्दै नेपाल बैंकर्स संघलाई दबाव दिएका थिए ।