गरिमा विकास बैंकको १४.५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्नेछन् ।
कुमारी बैंक र दराजबीच ११:११ अभियानको लागि सम्झौता
काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिस ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार दराजको ११:११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले अभियानको अवधिमा मात्र हुनेछ उल्लेखित छुट पाउनेछन् । कुमारी बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।
मुक्तिनाथ विकास बैंकद्धारा २६४ जना महिला उद्यमीहरु सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना उद्यम संचलन गरिरहेका २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङ्ग सम्बन्धि आयोजना गरेको साक्षरत कार्यक्रममा देशभरका महिला उद्यमीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो । महिला उद्यमीहरुको लागि व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ । देशभर संचालन भएकाे कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, स्थानिय र विभिन्न पेशामा आवद्ध भएका महिला उद्यमीहरुसहित लगभग ३५ सय जनाको उपस्थिति रहेको थियो । बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।