ग्लोबल आइएमई र बिओकेको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । अर्थात् बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ । दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए । मर्जरपछि कुल चुक्तापुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ ।
बैंक बिग मर्जर : चार बैंकको डीडीए रिपोर्ट तयार, कुनको प्रोग्रेस कति ?
काठमाडौं । मर्जरको सम्झौता गरेका १० वटा वाणिज्य बैंक अहिले डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट तयार पार्नमा व्यस्त भएका छन् । अधिकांश बैंकहरु डीडीए रिपोर्ट तयारमा अन्तिम अवस्थामा पुगेका छन् भने नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक र ग्लोबल आइएमई–बिओके बैंकको डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकिसकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनाल बताउँछन् । खनालका अनुसार यी दुवै बैंकको डीडीए रिपोर्ट तयार भइसकेको छ । उनले वार्षिक साधारण सभाबाट नै मर्जर प्रस्ताव पारित गर्ने योजना रहेकाे बताए । राष्ट्र बैंकले गत वर्षको वित्तीय विवरण स्वीकृत नगरेका कारण ढिला हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिन ढिलाइ गरेपनि मर्जर प्रक्रियालाई भने समयमा नै सम्पन्न गर्ने उनले बताए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै, मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । यस्तै, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पनि डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । स्रोतका अनुसार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए रिपोर्टमा १:१ को स्वाप रेसियो आएको छ । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । मर्जरपछि बैंकको अध्यक्षमा चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्य हुने सहमति भएको छ । यस्तै, प्रभु बैंक र सेञ्चुरी बैंकबीचपुस मसान्तभित्र एकीकृत कारोबार हुने बताइएको छ । सोही अनुसार डीडीए रिपोर्ट बनिरहेको मर्जर कमिटीका सदस्य मन बहादुर राई बताउँछन् । ‘पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने लक्ष्य हो, यो भन्दा अघि पनि मर्ज हुन सक्छ, राष्ट्र बैंकबाट डीडीए रिपोर्ट स्वीकृत ढिला भएको छ, अझै केही समय लाग्ने जस्तो छ, यसअघिका मर्जर वर्षदिन पछि पनि भएका थिए,’ उनले भने । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । यस्तै, हिमालयन र सिभिल बैंकले पनि एक साताभित्रै डीडीए रिपोर्ट तयार पार्ने किसिमले काम गरिरहेका छन् । दुवै बैंकको सम्झौता अनुसार स्वाप रेसियो आउने बताइएको छ । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । मर्जर पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । यस्तै, कुमारी र एनससीसी बैंकले पनि असार मसान्तसम्म एकीकृत गर्ने किसिमले काम गरिरहेका छन् । बैंकले आगामी पुस १७ गतेभित्र एकीकृत कारोबार गर्ने किसिमले काम गरिरहेका छन् ।
लगानीकर्ताको रोजाइमा गरिमा विकास बैंक, यस्तो छ १२ वर्षे लाभांश इतिहास
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्नेछन् । विकास बैंकहरुमा अब्बल मानिएको गरिमा विकास बैंक १५ औं वर्षको यात्रामा छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस बैंकलाई प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकार र अध्यक्ष श्याम प्रसाद बस्यालले नेतृत्व गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको बिहीबारको सेयर मूल्य अनुसार प्रतिकित्ता सेयर ३८१.९० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६६० रुपैयाँ र न्यूनतम ३१८ रुपैयाँ रहेको छ । बैंकको ४ करोड ५७ लाख ९८ हजार ९२४ कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार ७३६ रुपैयाँ रहेको छ । बिहीबारको सेयर मूल्य अनुसार बैंकको बजार पूँजीकरण १७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । बैंकमा संस्थापक समूहको ५०.८८ प्रतिशत र सर्वसाधारण समूहको ४९.१२ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले आफ्नो १५ वर्षको इतिहासमा सेयरधनीहरुलाई निरन्तर १२ वर्ष लाभांश वितरण गर्दै आएको छ । बैंकको लाभांश इतिहास हेर्दा हालसम्म दोहोर अंकमा नै सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरुलाई १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/७० मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरुलाई २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद गरी कूल १३.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनस सेयर र ०.८५ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद गरी कूल १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।