सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कोडबाट गर्न सकिने
काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटक क्युआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ । त्यसैले, यो प्रकृयालाई सरल र छिटो गर्ने उद्देश्यले क्युआर कोडसहितको कर्जा स्वीकृति पत्र सानिमा बैंकले ल्याएको जनाएको छ । हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक पटक फोन वा इमेल मार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृती पत्रमा उल्लेखित क्युआर कोड स्कयान गरी बैंकको आधिकारिक वेबसाइट मार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ । यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्ने बैंकले जनाएको छ ।सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरुबाट उपलब्ध हुनेछ । बैंकले अधिकतम १ करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए।टि।एम। सञ्जालहरु रहेका छन् ।
नबिल बन्यो एक्जिम बैंकको व्यापार सहायता कार्यक्रमको सदस्य, नेपालकै पहिलो
काठमाडाैं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो । एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो । यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकको विश्वास रहेकाे जनाएकाे छ । यो सुविधा अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ । यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सिमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरुको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारहरुलाई सहज गर्ने बैंकले जनाएकाे छ । एक्जिम बैंक आयात–निर्यात वित्तपोषणमा संलग्न संस्थाहरुको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौंदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशभर बैंकका २३३ शाखा कार्यालय, २६९ एटीएम, असंख्य पोस (पीओएस) टर्मिनल, रेमिट्यान्स एजेन्ट र २०० भन्दा बढी अन्तर्राष्ट्रिय कर्रेसपन्डेन्ट बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकहरुले लिएको तरलता सुविधा समयमै नतिरे पनि जरिवाना नलाग्ने, राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गरेको छ र रााट्र बैंकले आरटीजीएस प्रणालीमा आबद्ध भएका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै विभिन्न नयाँ व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कार्यविधिमा उल्लेख भएका सुविधा उपयोग गर्दा लाग्ने नियमित ब्याज र शुल्क बाहेक त्यस्तो सुविधा तोकिएको समयमा फिर्ता गर्न नसकेमा लाग्ने हर्जाना सुरुको २ महिनाको लागि नलिने व्यवस्था गरेको छ । दैनिक तरलता सुविधासम्बन्धी संलग्न कार्यविधिका व्यवस्थाहरु २०७९ पुस १ गतेदेखि लागू हुने बताइएको छ । संशोधन भएको नयाँ कार्यविधिमा कुनै संस्थाले यस कार्यविधि बमोजिम तोकिएको अवधिभित्र आफूलेउपयोग गरेको ओभरनाइट सुविधा भुक्तानी गर्न नसकेमा बैंकले संस्थाको नाममा यस बैंकमा रहेकोकुनै पनि खाताको मौज्दातबाट सम्पूर्ण लेना रकम (तिर्न बाँकी सुविधा रकम, सो अवधिसम्मको ब्याज÷हर्जाना र नियमानुसार लाग्ने शुल्क लगायतका रकमसमेत) असुल गर्न सक्ने व्यवस्था गरेको छ । सो मौज्दातले सम्पूर्ण लेना रकम नखामेमा संस्थाले यस बैंकमा धरौटीमा राखेका सुरक्षणपत्र जफत गरी बैंकले आफ्नो स्वामित्वमा लिई वा बिक्री गरी असुल उपर गर्न सक्ने जनाएको छ । साथै, यस्तोबक्यौता रकम पूर्णरुपमा फरफारक नभएसम्म संस्थाको धितो व्यवस्थापन खाता प्रचलित लेखा निर्देशिका तथा बैंकिंग कार्य निर्देशिका बमोजिम रोक्का राखी दैनिक तरलता सुविधा बन्द गरिने पनि कार्यविधिमा उल्लेख छ । राष्ट्र बैंकले आरटीजीएस प्रणालीमा सहभागी संस्थाले बिगत कारोबारहरूको विश्लेषणका आधारमा आफ्नो दैनिक तरलता आवश्यकता अनुमान गरी सोही बमोजिम धितो व्यवस्थापन खाताको सीमा निर्धारणका लागि अनुरोध गरेको छ ।