नेपाल एसबिआई मर्चेन्टको सातौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सातौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आ.ब. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । यस्तै साधारणसभाले आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
राष्ट्र बैंकले लाइसेन्स दिए गरिमा ‘वाणिज्य बैंक’ बन्न तयार, नम्बर वान बन्ने रणनीति
काठमाडौं । कुनै समय नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त विकास बैंकहरुको संख्या सात दर्जन बढी थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको नीति अघि सारेपछि अहिले १७ वटा विकास बैंक मात्रै कायम भएका छन् । अहिले कायम १७ वटा विकास बैंकमध्ये एक हो गरिमा विकास बैंक । ७१ औं नम्बरमा स्थापना भएको गरिमा विकास बैंकले राष्ट्र बैंकबाट वि.स. २०६४ असोज २४ गते इजाजतपत्र प्राप्त गरी आफ्नो कारोबार सुरु गरेको थियो । हाल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा काम गरिरहेको बैंकले वि.सं. २०६४ कात्तिक १८ गतेदेखि स्याङ्जाको वालिङबाट औपचारिक कारोबार सुरु गरेको थियो । डेढ दशकअघि स्थापित बैंकले गत मंसिर ७ गते मात्रै १५ वर्ष पुरा गरी १६ वर्षमा प्रवेश गरेको छ । बैंकले १५ वर्षको अवधिमा विभिन्न ३ वटा बैंकलाई गाभिसकेको छ । निश्चित क्षेत्रमा बैंकिङ्ग कारोबार गरिरहेको बैंकले तत्कालीन निलगिरि विकास बैंकसँग मर्जर गरेपछि मात्रै २०७२ असार २९ गते राष्ट्रिय स्तरमा स्तरोन्नति भएको थियो । ३ जिल्लामा कार्यक्षेत्र रहेको निलगिरि विकास बैंकलाई गाभेर वि.सं. २०७२ साउन १७ गते एकीकृत कारोबार गरेको थियो । यस्तै, गरिमा विकास बैंकले २०७३ मा सुभेच्छा विकास बैंकलाई गाभेको थियो । राष्ट्र बैंकले पूँजी बृद्धि योजना ल्याएपछि गरिमा विकास बैंकले तीन जिल्ले सुभेच्छा बैंकलाई गाभेको थियो । यस्तै, गरिमा विकास बैंकले सर्लाही जिल्लामा रहेको सहारा विकास बैंकलाई गाभेर वि.सं. २०७८ कात्तिक २८ गतेदेखि एकीकृत कारोबार गरेको थियो । राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि सबैभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीले पच्छ्याएको बताउँदै राज्यका लागि ८ वटा राष्ट्रिय स्तरका विकास बैंक खाँचो रहेको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकालले बताए । यदि राष्ट्र बैंकले वाणिज्य बैंकको इजाजतपत्र प्रदान गर्याे भने गरिमा बैंक बनाउन तयार रहेको उनको भनाइ छ । ‘गरिमा विकास बैंकको उद्देश्य भनेको वाणिज्य बैंक बन्ने हो, पूँजी लगायत सबै हिसावले ‘फिट एण्ड फाइन’ छ, राष्ट्र बैंकले लाइसेन्स वितरण गर्छ भने गरिमा बैंक बनाउन तयार छौं,’ उनले भने, ‘गरिमा विकास बैंकले अहिले मर्जरका लागि कुनै बैंकसँग पहल गरेको छैन, वाणिज्य बैंकको लाइसेन्स नदिँदासम्म विकास बैंक नै रहन्छ, वाणिज्य बैंकसँग मर्जर गर्ने चाहना पनि छैन, वाणिज्य बैंक बन्न जति पुर्वाधार चाहिन्छ त्यसको तयारी गर्दै गइरहेका छौं ।’ ५ वर्षे रणनीतिमा अब्बल बैंक विकास बैंकहरुको बजार ठूलो छ, संख्या थोरै । ग्रामीण क्षेत्रदेखि सहरसम्म आफ्नो ब्यापार व्यवसाय गरिरहेका विकास बैंकहरुमा पनि प्रतिस्पर्धा ठूलो छ । बैंकिङ्ग क्षेत्रमा वाणिज्य बैंकपछि विकास बैंकमा पनि आफूलाई नम्बर वान कायम राख्न होडबाजी चलिरहेको हुन्छ । आफूलाई विकास बैंकमा एक नम्बरको बनाउन हाल कायम रहेका बैंकहरुबीच आ-आफ्नै प्रतिस्पर्धा छ । वाणिज्य बैंकको प्रतिस्पर्धा वाणिज्य बैंकहरुमा मात्रै सीमित छ । तर, विकास बैंकलाई विकास बैंक समूहमा नम्बर वान बनाई वाणिज्य बैंकसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । गरिमा विकास बैंक पनि आफूलाई विकास बैंकहरुमा अब्बल सावित गर्दै वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ । राष्ट्र बैंकले जारी गरेका केही निर्देशनलाई उल्लङ्घन गर्दै नम्बर वान बनाउन बैंकहरु खप्पिस छन् तर गरिमा विकास बैंकलाई सुशासन सहित नम्बर वान बनाउने लक्ष्य छ रहेको सीईओ ढकालले सुनाए । ‘नम्बर वानले कहिलेकाँही दुख पाइन्छ, नम्बर वान बन्न नीती नियमहरुलाई भ्वाइलेन्स गर्नुपर्छ, त्यो पक्षमा हामी छैनौं, हाम्रो उद्देश्य संस्थागत सुशासनसहित नम्बर वान गरिमा विकास बैंक बनाउने हो, अर्काले के गर्यो भन्दा पनि मैले के गरेँ भनेर अघि बढ्ने हो,’ उनले भने, ‘हामीले ५ वर्षे योजना पनि बनाएर अगाडि बढेका छौं, पाँच वर्षमा गरिमा विकास बैंक कहाँ, कति शाखा र संरचनागत अवस्था कस्तो हुने भनेर योजना बनाएका छौं, अहिले धेरै संरचनागत परिवर्तन भएको छ, अब यही हिसाबमा अगाडि बढ्ने हो ।’ बैंकका रणनीति विभिन्न ३ वटा विकास बैंकलाई गाभेपछि बैंक झनै आक्रमक बन्दै सेयरधनी, सेवाग्राही, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाको सन्तुष्टिमा गुणात्मक वृद्धिमा जोड दिइरहेको छ । समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बनाउँदै अघि बढ्ने बैंकको योजना छ । गरिमा विकास बैंकले राष्ट्र बैंकका नीति निर्देशनहरु भित्र रहेर काम गरिरहेको सीईओ ढकालले बताए । बैंकले आफूलाई अब्बल सावित गर्न ५ वर्षे योजनालाई पुरा गर्न बैंकको सञ्चालक समितिदेखि कर्मचारी कटिबद्ध भएर काम गरिरहेको बताए । पछिल्लो २ वर्षमा डिजिटल बैंकिङ्गलाई विशेष जोड दिएको पनि उनले बताए । बैंकलाई डिजिटल्ली बनाउन प्रविधिमा बढी खर्च गरेको उनको भनाइ छ । गरिमा विकास बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सबै डिजिटलदेखि अन्य सुविधाहरु पनि प्रदान गरिरहेको उनको भनाइ छ । लाभांश वितरणमा पहिलो गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गर्नेमा गरिमा विकास बैंक पहिलो बनेको छ । गरिमा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले पनि स्वीकृति दिइसकेको छ । पुस भित्र साधारण सभा गरेर पारित गर्ने तयारी छ । आगामी वर्षहरुमा बैंकलाई हाल वितरण गरिरहेको लाभांशलाई कायम राख्न चुनौति भएपनि सेयरधनीहलाई निराश नपार्ने सीईओ ढकालले बताए । ‘हाल वितरण गरिरहेको लाभांश दरलाई आगामी वर्षमा कायम गर्न बैंकहरुलाई गाह्रो छ, स्प्रेड दर घटाउने, रिकोभरिका समस्याले आगामी वर्षमा हालको लाभांशलाई कायम गर्नुपर्ने चुनौति छ तर हामी भने सेयरधनीहरुलाई निराश गर्दैनौं,’ उनले भने । बैंकले आफ्नो १५ वर्षको इतिहासमा सेयरधनीहरुलाई निरन्तर १२ वर्ष लाभांश वितरण गर्दै आएको छ । बैंकको लाभांश इतिहास हेर्दा हालसम्म दोहोरो अंकमा नै सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरुलाई १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०६८/६९ मा १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत र आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरुलाई २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १५ प्रतिशत बोनस र २०७४/७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद गरी कूल १३.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनस सेयर र ०.८५ प्रतिशत नगद गरी कूल १७ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद गरी कूल १४.२१ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई १६ प्रतिशत, बैंकले आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शाखा सञ्जाल विस्तार अत्याधुनिक प्रविधिको माध्यमबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने बैंकको पहिलो उद्देश्य रहेको छ । स्वस्थ र दीगो मूल्य निर्माणको साथ सबै सरोकारवालाहरूलाई सन्तुष्ट पार्ने बैंकको चाहना छ । व्यावसायिक निष्ठा, कर्पोरेट सुशासन र नियमन अनुपालन मार्फत् उद्देश्यलाई साकार बनाउन बैंकले आफ्नो यात्रा निरन्तर कायम राखेको छ । व्यापारिक, शैक्षिक, इन्जिनियरिङ, डाक्टर, बैंकिङ्ग लगायतका क्षेत्रमा आवद्ध रहेका व्यवसायी र उद्यमीहरूको समूहको लगानी रहेको बैंकमा व्यापार विशेषज्ञता र व्यक्तिगत अनुभवमा अब्बल रहेका कर्मचारीहरू कार्यरत छन् । गरिमा विकास बैंकले मेची महाकालीसम्म सबै प्रदेशमा १२१ वटा शाखा कार्यालय मार्फत् ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकमा हाल ११ सय कर्मचारी कार्यरत छन् । वित्तीय अवस्था कस्तो छ ? बैंकको चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख रुपैयाँ रहेको छ भने १ अर्ब ४९ करोड ६८ लाख रुपैयाँको जगेडा कोष रहेको छ । बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले निक्षेप संकलन ६८ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी ५९ अर्ब ८६ करोड ९ लाख रुपैयाँ रहेको छ । बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८७.४४ प्रतिशत छ । असोज मसान्तसम्ममा बैंकको खराब कर्जा १.७१ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.६९ प्रतिशत र आधार दर १२.४८ प्रतिशत रहेको छ । लगानीकर्ताको नजरमा आकर्षक बैंक गरिमा विकास बैंकले राष्ट्र बैंकले तोकेका सबै निर्देशनहरु पच्छ्याइरहेको छ । बैंकसँग डेढ दशक लामो इतिहास बोकेको अनुभव छ । बैंकले समय समयमा आउने विभिन्न परिस्थिती अनुकूल गरेर अघि बढिरहेको छ । परिवर्तनशील बजारमा नयाँ प्रविधिहरू अन्वेषण गर्न र नयाँ समुदायहरूलाई संलग्न गराउन बैंक सक्षम बनेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस बैंकलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द प्रसाद ढकाल र अध्यक्षका रुपमा श्याम प्रसाद बस्यालले काम गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको सोमबारको सेयर मूल्य अनुसार प्रतिकित्ता सेयर ३८९ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६२५ रुपैयाँ र न्यूनतम ३१८ रुपैयाँ रहेको छ । सोमबारको सेयर मूूूल्य अनुसार बिहीबारको सेयर मूल्य अनुसार बैंकको बजार पूँजीकरण १७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बैंकमा संस्थापक समूहको ५०.८८ प्रतिशत र सर्वसाधारण समूहको ४९.१२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा विशेष छुट दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’ मा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन बसुन्धराको ‘द डालो रेष्ट्रो’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हाे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रोे’ मा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार् प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंक एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।