चालु आवको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । “आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ ६.५ प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीतिमा भनिएको छ, “बैंकदरलाई साढे ७ प्रतिशतमा यथावत राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।” राष्ट्र बैंकले सञ्चालन लक्ष्यका रुपमा लिने भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने जनाएको छ । त्यस्तै, बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखिएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन भन्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलव्ध गराउने व्यवस्था गरिने जनाएको छ । बैंक तथा वित्तीय संस्थाको विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । [pdf id=425996]

मौद्रिक नीति : अनुुत्पादक क्षेत्रको कर्जामा अझै कडाइ, सेयरमा लगाइएको १२ करोडको सीमा के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार दिउसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । नेपाल राष्ट बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गरिसकेको छ । दिउसो ३ बजे नेपाल स्टक एक्सचेञ्ज बन्द हुने बित्तीकै राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्नेछ । राष्ट्र बैंकको नीतिले सेयर बजारमा प्रभाव नपरोस् भन्ने मनसायले बजारको समय सकिएपछि वा शुक्रबार मौद्रिक नीति जारी गर्दै आएको छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिलाई धेरैले चासोका साथ हेरेका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुुस्ततालाई चलायमान गर्ने र मूल्यवृद्धिको चापलाई सम्बोधन गर्ने किसिमले मौद्रिक नीति सार्वजनिक हुनुपर्ने राय धेरैको छ । राष्ट्र बैंकले पनि सोही ढंगले काम गरिरहेको स्रोतको भनाइ छ । अहिले विदेशी मुद्राको सञ्चितिमा सुधार भइरहेकोले पनि राष्ट्र बैंकलाई खेल्न सक्ने ठाउँ छ । तर, त्यसलाई धेरै चलाउने पक्षमा राष्ट्र बैंक छैन । सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने र मुद्रास्फीति साढे ६ प्रतिशतभित्रै कायम गर्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले सोही लक्ष्य भेट्टाउने किसिमले मौद्रिक नीति ल्याउने स्रोतको भनाइ छ । राष्ट्र बैंक मौद्रिक नीतिमार्फत् नीतिगत दर हेरफेर गर्न सक्ने अवस्थामा पुुगेको छ । राष्ट्र बैंक स्रोतका अनुसार वित्तीय प्रणालीमा तरलता अवस्था सहज रहेकाले बैंक दर केही घट्न सक्नेछ । यसको संकेत गभर्नर महाप्रसाद अधिकारीले पनि गरिसकेका छन् । गत बिहीबार संघीय संसद अन्तर्गतको अर्थसमिति बैठकमा उनले पछिल्लो एक वर्षको अवधिमा बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएको तर बैंकको कर्जा असुलीमा समस्या देखिएको बताउँदै व्यवसायमा शिथिलता आएकाले यस्तो अवस्थालाई पनि सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए । यस्तै, राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जामा भने कडाइ नै गर्ने स्रोतको दाबी छ । राष्ट्र बैंकले सेयर र घरजग्गा क्षेत्रलाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गर्दै आएको छ । यी दुुई क्षेत्रमा सहज नीति बनाउँदा अझै पहिलेको जस्तो समस्या सिर्जना हुने भन्दै यो क्षेत्रमा कडाइ यथावत राख्ने स्रोतको दाबी छ । यस्तै, सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा यथावत हुन सक्ने स्रोतको भनाइ छ । ‘कर्मचारीहरुको तहबाट १२ करोडको सीमामा कुनै हेरफेर भएको छैन, यो सञ्चालक समितिको पनि कन्सर्नको विषय हो, अर्थमन्त्रीले पनि यस विषयमा चासो दिइराख्नुभएको छ, सञ्चालक समितिले चाहेको खण्डमा हेरफेर पनि गर्न सक्छ, तर यो नीति पुुनरावलोकनमा गभर्नर सकारात्मक हुनुहुन्न,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

 राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच शनिबार सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहकाबीच ३४ औं वार्षिकोत्सब मुल कार्यक्रमको समुदघाटन गरे । सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरुका कर्मचारीको सेवा सुविधा बृद्धिमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताए । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्ने बताए । सो कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष शिवकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो । कर्मचारी संघ नेपालका महासचिव रबिन्द्रप्रसाद चौलागाईंले संचालन गरेकाे सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक, संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारीहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए । संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७१ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उष्कृष्ठ भएबापत रनिङ्ग शिल्ड प्रदान गरिएको थियो । साथै, सो अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता संचालन गरिएको थियो । सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय भावना शर्मा र तृतीय गंगा भुर्तेल भएका थिए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।