सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको जोखिमभार घट्ने

काठमाडौं । नेपाल राष्ट बैंकले सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले आइतबार चालुआर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो । ‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ माौद्रिक नीतिमा भनिएको छ । निजी क्षेत्रले घरजग्गा, सवारी तथा सेयर धितो कर्जाको जोखिमभारलाई १५० प्रतिशतबाट ७५ प्रतिशतमै झार्नुपर्ने सुुझाव दिएका थिए । राष्ट्र बैंकले यो जोखिमभार ङटाउने भनेको छ तर कति घटाउने भन्ने विषय खुलाएको छैन ।

अब विदेश भ्रमणमा जाँदा २५ सय डलरसम्म साट्न पाइने

काठमाडौं । विदेश भ्रमणमा जाने नेपाली नागरिकले अब २५ सय डलरसम्मको सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा डलर सटहीको सुविधा थप गरेको हो । ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ’, मौद्रिक नीतिमा भनिएको छ । यसअघि वर्षमा २ पटक विदेश भ्रमणमा जाने नेपालीले १५ सय डलरसम्म मात्रै सटही सुविधा पाउने गरेका थिए ।

यस्ता छन् मौद्रिक नीतिका ७ लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा विदेशी विनिमय सञ्चितिमा टेवा पुग्ने गरी व्यवस्था गरेको हो । यस्तै, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गर्ने भएको छ । नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अङ्कुशका रुपमा यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यका रुपमा यथावत राखिएको छ । मौद्रिक नीतिले सञ्चालन लक्ष्यको स्थितिको आधारमा सक्रिय रुपमा खुला बजार कारोबार सञ्चालन गरी अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरभित्र राख्ने लक्ष्य राखेको छ । यस्तै, मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । सरकारको चालु आवको वार्षिक बजेट वक्तव्यले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता केन्द्रीय बैंकले तय गरेको छ । यस्तै, चालु आवमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।