एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड उन्नाइसौँ वर्षमा प्रवेश
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १८ बर्ष पुरा गरी २०८० साउन गतेबाट १९ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा साउन ५ गतेका दिन विरामीहरुको उपचारमा सहयोग पुर्याउने हेतु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभेच्छुक व्यक्तिहरु, संघ संस्थाका पदाधिकारीहरु, बैंकका कर्मचारीहरुबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी, उपशाखा विर्तामोड झापालाई प्रदान गरिएको थियो बैंकले जनाएको छ । त्यस्तै, साउन ६ गते वार्षिक उत्सवका दिन विहान ७.३० बजे बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरु सहित प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको थियो भने वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा विर्ता पार्टी प्यालेस, लक्ष्मण मार्केट, विर्तामोड, झापामा आयोजना गरिएको थियो । प्रादेशिक विकास बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । उदयपुरको रामपुरमा केहिदिन भित्रमा नयाँ शाखा संचालनमा आउनेछ । बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ । सञ्चालक अमितकुमार अग्रवालको अध्यक्षतामा आयोजित प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई रहेको सो कार्यक्रममा बैंकका पुर्व अध्यक्ष हेमराज ढकाल र पूर्व प्रबन्ध संचालक खगेन्द्रनाथ ढुंगानालाई सम्मान गरिएको थियो । बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले संचालन गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले स्वागत मन्तव्य सहित बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए । बैंकका संस्थापक शेयरधनी डा. रुपक खनाल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष रामचन्द्र उप्रेती, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य उमेश डालमिया, पूर्व प्रबन्ध सञ्चालक खगेन्द्र ढुंगाना, पूर्व अध्यक्ष हेमराज ढकाल, बिर्तामोड न.पा.का नगर प्रमुख पवित्रा महतारा प्रसाईं लगायतले बैंकको उन्नती तथा प्रगतीका लागि शुभकामना मन्तव्य राखेका थिए । साथै, वार्षिकोत्सवको अवसरमा बैंकले वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने कृषि उत्पादन, वातावरण मैत्री उद्योग लगायत विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन गर्नको लागि इडिबिएल ग्रिन लोनको शुरुवात गरेको छ । यसको ब्याजदर आधारदरमा एक प्रतिशत थप प्रिमियम दरमात्र थप हुने गरी लागू गरिएको बैंकले जनाएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्सद्वारा मुक्तिनाथ विकास बैंक पुरस्कृत
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक बाट सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरी लगातार चौथो पटक पुरस्कृत भएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह) २. वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्तकार्य गर्ने कम्पनीहरु) ३. शक्ति र उर्जा क्षेत्र ४.निर्माण क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो । गत शुक्रबार , काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुतगरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बाट वार्षिक रुपमा प्रदान गरिन राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्टद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।