घर बनाउन धितोको ७० प्रतिशत ऋण, ब्याज बढेपनि किस्ता नबढ्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा केही लचिलो नीति अघि सारेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै घर बनाउनका लागि धितोको ७० प्रतिशतसम्म कर्जा पाउने बताएको हो भने सो कर्जाको ब्याज बढेपनि मासिक किस्ता भने नबढ्ने व्यवस्था गरेको हो । आवासिय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट दुई करोड रुपैयाँसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था मौद्रिक नीतिमार्फत् गरिएको थियो । सो व्यवस्थालाई थप स्पष्ट पार्दै राष्ट्र बैंकले भनेको छ, ‘तीन हजार वर्गफिटसम्मको घर निर्माण खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मुल्यांकनको ७० प्रतिशतसम्म यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् र ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नु पर्दछ ।’ यसअघि फर्स्ट होम बायरलाई घरकर्जाको सीमा एक करोड ५० लाख तोकिएको थियो । राष्ट्र बैंकले यो व्यवस्थामा थप प्रष्ट पारपछि घरजग्गा क्षेत्र केही चलायनमान हुन मद्दत पुग्नेछ । यस्तै, राष्ट्र बैंकले देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरु पनि बलियो हुनु बताएको छ । राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले आधारदरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको पनि सूचना मार्फत् जानकारी दिएको छ ।
सानिमा बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सानिमा बैंकका ग्राहकहरुले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधीको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट हेर्न सकिने बैंकले जनाएको छ ।
नेपाल एसबिआई र ओम्नी मोटर्स बीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक लि. र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र ओम्नी मोटर्स प्रालिका तर्फबाट सहनिर्देशक उदयन काब्राको संयुक्त हस्ताक्षरमा भएको हो । सो सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको जनाइएको छ ।