ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं ११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक मिर्चैया शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनुपर्छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन् । बिहीबार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् । उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए । अर्थमन्त्री महतले बैंकहरुले उल्टो ब्याजदर बढाउने काम गरेको भन्दै असन्तुष्ट जनाए । अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले सकारात्मक सन्देश प्रवाह र बैंकहरुले निजी क्षेत्रलाई सहुलियत दिन आवश्यक रहेको उल्लेख गर्दै उनले पछिल्लो समय बैंकहरुलाई लगानी नगर भनेर नकारात्मक साइकलको अन्त्य गर्नु जरुरी देखिएको बताए । अर्थतन्त्र चलायमान हुँदा अर्थतन्त्र बढ्ने र आर्थिक गतिविधि बढ्दा रोजगारी पनि वृद्धि हुने भन्दै अर्थतन्त्रको नकारात्मक चक्रलाई सुचक्रमा बदल्न जरुरी रहेको बताए । निजी क्षेत्र अर्थतन्त्रप्रति नकारात्मक देखिए निजी क्षेत्रलाई नै पछि समस्या पर्ने उनको भनाई छ । उनले बैंकहरुले पनि निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने अवस्थामा केही बैंकहरुले ब्याज बढाउनु राम्रो नभएको बताए । उनले सरकारी बैंकहरु ब्याजदर घटाएको भन्दै अन्य बैंकहरुले पनि ब्याजदर घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । निक्षेप तथा कर्जा सुुरक्षण कोषले निक्षेपकर्ताहरुको लगानी जोखिमलाई न्युनिकरण गर्नसके मात्रै निक्षेप बढ्नसक्ने बताउँदै उनले साना–साना वचत कर्जा र उद्यमहरुको विकास गर्नसके मात्रै अर्थतन्त्र माथि जान सक्ने बताए । त्यस्तै, बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मुलुक अर्थतन्त्रलाई सपोर्ट गर्ने कर्जालाई प्राथमिकता दिनु पर्ने बताए । बैंकको कर्जा दिगो विकासको लागि ग्यारण्टी गर्नसके मुलुकको अर्थतन्त्रमा सुधार आउने बताउँदै उनले त्यसबाट बैकहरुलाई पनि राम्रो हुने अवस्था रहेको जानकारी गराए । उनले भदौ महिनामा बैंकहरुबाट करिव ४१ अर्ब रुपैयाँ कर्जा बिस्तार भएको बताए । उनले गत वर्षको भदौ महिनाको भन्दा यो वर्ष राम्रो सुधार भएको बताए । मुलुकको वित्तीय परिसूचकहरु प्रायः सबै राम्रो रहेको बताउँदै उनले बैंकको कर्जाको ब्याजदर पनि १३ प्रतिशतबाट १२ प्रतिशतमा आएको जानकारी गराए ।
१० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार १० अर्ब रुपैयाँको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत पाइनेछ । यही असोज ५ गते मध्याह्न साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ गते निष्काशन हुनेछ । पाँच वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी २०८५ असोज ७ गते हुनेछ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट-अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । घटीमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ र एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत मात्र हुने जनाइएको छ ।