बैंकको ब्याज ११ प्रतिशत नाघ्यो, कुनले बढायो, कुनले घटायो ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याज सार्वजनिक गरेका छन् । असोजमा सात वटा बैंकले ब्याज बढाएका छन् भने ६ वटाले घटाएका छन् । चारवटा बैंकले पुरानै ब्याज कायम गरेका छन् । असोज महिनाका लागि नबिल बैंक, प्राइम कमर्सियल, हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टेमन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकले १.०६४ प्रतिशत बिन्दु ब्याजदर बढाएको छ । हिमालयनको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत छ । पाँच वटा वाणिज्य बैंकको ब्याज ११ प्रतिशत नाघेको छ । ग्लोबल आइएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ । प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसतमा १० प्रतिशतले घटी बढी गर्ने गरेका छन् । कुन बैंकको ब्याज कति ? हिमालयन बैंकले १.०६४ प्रतिशत ब्याज बढाएर ११.०५४ प्रतिशत ब्याज कायम गरेको छ । यस्तै, एभरेष्ट बैंकले १.५४ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.८५८ प्रतिशत, नबिलले ०.५६४ प्रतिशत, स्ट्याण्डर्ड चार्डर्डले ०.६३ र नेपाल एसबिआईले ०.१ प्रतिशतले ब्याज बढाएका छन् । यस्तै, चार वटा बैंकले ब्याज यथावत राख्दा ग्लोबल आइएमई बैंकले ०.३९६ प्रतिशत, लक्ष्मीले ०.०१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.४९ प्रतिशत, कुमारीले ०.७८७ प्रतिशत, सिटिजन्स बैंकले ०.८४६ प्रतिशत र नेपाल बैंकले १.६०३ प्रतिशत ब्याज घटाएको छ ।

सिटिजन्स बैंकको लाभांश घोषणा, नगद लाभांश कति ?

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले प्रस्ताव अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौं । दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उदेश्यले माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्तरुपमा शुक्रबार उद्घाटन गरे । उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरुले क्यूआरमार्फत् भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन्। जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफुलाई स्थापित गर्न निरन्तर लागिरहेको बैंकले जनाएको छ ।