१.७६ लाख कित्ता सेयर बेचेर सांग्रिलाबाट बाहिरिँदै गुरूङ र बजगाईं

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका २ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकले संस्थापक नवराज बजगाईंको नाममा रहेको ५ हजार ३० कित्ता र ईमान बहादुर गुरुङको १ लाख ७१ हजार १० कित्ता गरी कूल १ लाख ७६ हजार ४० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर जोकोही सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको १५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ ।

बैंकको ऋण तिर्नु हुन्न भन्ने ‘दुर्गाहरू’को प्रभाव ब्यालेन्ससिटमा, खराब कर्जा ४ गुणासम्म बढ्यो

काठमाडौं । विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध अराजक गतिविधि भइरहेका छन् । बैंकरमाथि दूर्व्यवहारदेखि कुटपिटसम्मका घटना बढाएर अराजक गतिविधि गरिरहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र मनिराम ज्ञवालीले बैंकबाट लिएको ऋण मिनाह गर्नु पर्ने र सावाँ ब्याज नै नतिर्न सर्वसाधारणलाई उक्साए । बैंकबाट लिएको ऋण नै तिर्न नपर्ने उनीहरूकाे भ्रमपूर्ण अभिव्यक्ति पछि लाग्दै धेरैले सावाँ ब्याज नै तिरेनन् । त्यसको नकारात्मक प्रभाव अहिले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको छ । ऋणीहरूले समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा बैंकहरूमा ठूलो असर परेकाे छ । जसले गर्दा चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा औसत ४८ प्रतिशत बढेको छ । पुस मसान्तसम्म बैंकहरूको खराब कर्जा औसत १.०५ प्रतिशत बिन्दु बढेर औसत ३.२५ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको पुसमा बैंकहरूको खराब कर्जा औसत २.२ प्रतिशत मात्रै थियो । समीक्षा अवधिमा तीन वटा वाणिज्य बैंककाे खराब कर्जा घटेकाे छ भने अन्य सबै बैंकको बढेको छ । कृषि विकास बैंकले सबैभन्दा धेरै खराब कर्जा घटाएको छ । यस बैंकले गत वर्षको तुलनामा ३३.१८ प्रतिशत घटाएर ३.०२ प्रतिशत बिन्दुमा कायम गरेकाे छ । कृषि विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) यज्ञप्रकाश न्यौपाने बैंकले रिकभरीमा जोड दिएका कारण खराब कर्जा घटेको बताउँछन् । पहिलो त्रैमासमा बैंकको खराब कर्जा अत्यधिक बढेपछि रिकभरीमा जोड दिँदा नियन्त्रणमा ल्याएको उनको भनाइ छ । ‘पहिलो त्रैमासमा बैंकको एनपीएल ५.३३ प्रतिशत थियो, हामीले २/३ महिना रिकभरीमा जोड दियौं, अहिले ३ प्रतिशतमा झरेको छ, अझै घटाउने योजना छ,’ उनले भने । पुस मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा नेपाल एसबिआई बैंकको बढेको देखिन्छ । यस बैंकको ३८७.२३ प्रतिशत बढेर २.२९ प्रतिशत बिन्दु पुगेको हो । यस्तै, लक्ष्मी सनराइज बैंकको २ सय प्रतिशत बढेर ४.६७ प्रतिशत बिन्दु पुगेकाे छ । लक्ष्मी सनराइज बैंकका चिफ फाइनान्स अफिसर पियुशराज अर्याल मर्जरको प्रभावले खराब कर्जा बढेको बताउँछन् । मर्जरपछि कर्जाको व्यवस्थापन गर्न समय लागेका कारण एनपीएल वृद्धि भएको उनको भनाइ छ । ‘पहिलो त्रैमासदेखि नै बैंकको खराब कर्जा बढ्न थालेको हो, मर्जरपछि दुवै बैंकको कर्जा मिलाउन समय लाग्यो, मर्जरअघि १ प्रतिशतको हाराहारीमा खराब कर्जा हुन्थ्यो, त्यसैले मर्जरको प्रभाव परेको हो,’ उनले भने, ‘लक्ष्मी सनराइज बैंकमा मध्यम किसिमका कर्जाले असर गरेको छ, ५/१० करोडका कर्जाले धेरै असर गरेको हो ।’ उनका अनुसार घरजग्गा बिक्री गरेर कर्जा तिर्न चाहेको भएपनि बिक्री हुन नसकेको उनले बताए । साथै, व्यवसाय नबढेका कारण पनि कर्जा तिर्न ऋणीहरूलाई समस्या परेको बताउँदै उनले भने, ‘सेयरको मूल्य पनि कम छ, सेयर बिक्री गर्ने अवस्था पनि छैन, अहिले अर्थतन्त्रको अवस्था पनि कमजोर नै छ ।’ प्रभु बैंकको १४७.४७ प्रतिशत बढेर ४.९० प्रतिशत बिन्दु, सानिमा बैंकको १२३.३७ प्रतिशत बढेर १.७२ प्रतिशत बिन्दु पुगेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२२.२२ प्रतिशत बढेर १.६ प्रतिशत बिन्दु, एनआइसी एशिया बैंकको ९५ प्रतिशत बढेर १.१९ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ८५.८१ प्रतिशत बढेर २.६२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ६०.२७ प्रतिशत बढेर ४.६८ प्रतिशत बिन्दु पुगेको छ । यस्तै, सिद्धार्थ बैंकको ६० प्रतिशत बढेर ३.४४ प्रतिशत बिन्दु, कुमारी बैंकको ५७.७७ प्रतिशत बढेर ४.९७ प्रतिशत बिन्दु, प्राइम बैंकको ४४.८३ प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, नेपाल बैंकको ४४.६९ प्रतिशत बढेर ४.५० प्रतिशत बिन्दु पुगेको छ । यस्तै, एभरेष्ट बैंकको ४० प्रतिशत बढेर ०.७७ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३१.२९ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ३६.१२ प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको २८ प्रतिशत बढेर ४.७५ प्रतिशत बिन्दु र एनएमबि बैंकको २७.६७ प्रतिशत बढेर २.८६ प्रतिशत बिन्दु पुगेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै, नबिल बैंकले १७.८० प्रतिशत घटाएर १.२ प्रतिशत विन्दु र राष्ट्रिय वाणिज्य बैंकले ८.८२ प्रतिशत घटाएर २.७९ प्रतिशत बिन्दुमा खराब कर्जा झारेको हो ।

१२ बैंकको वितरणयोग्य नाफा १७ अर्ब ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्म वितरणयोग्य नाफा १२ वाणिज्य बैंकको ऋणात्मक छ भने ७ बैंकको घटेको छ । पुस मसान्तसम्म १२ वाणिज्य बैंकको वितरणयोग्य नाफा करिब १७ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा १२ वाणिज्य बैंकको १६ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा हिमालयनको ४ अर्ब ५२ करोड रुपैयाँ, कुमारीको ३ अर्ब ७७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब ८६ करोड रुपैयाँ, एनएमबि बैंकको ९९ करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । यस्तै, लक्ष्मी सनराइज बैंकको ८१ करोड १८ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५९ करोड २२ लाख रुपैयाँ, नेपाल बैंकको ५६ करोड ९० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २४ करोड ६९ लाख रुपैयाँ, सिटिजन्स बैंकको २१ करोड ३० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा प्राइम बैंकको १ हजार ४६२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको ६ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस अवधिमा राष्ट्रिय वाणिज्य, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र नबिल बैंकको वितरणयोग्य नाफा धनात्मक भएपनि गत वर्षको तुलनामा ४३.६१ प्रतिशत घटेको छ । यी बैंकहरूको पुस मसान्तसम्म ६ अर्ब ९९ करोड रुपैयाँ वितरणयोग्या नाफा रहेको छ । गत वर्षको सोही अवधिमा १२ अर्ब ४० करोड रुपैयाँ वितरणयोग्य नाफा थियो । राष्ट्रिय वाणिज्य बैंकको ७८.३७ प्रतिशत घटेर ४० करोड ६२ लाख रुपैयाँ, कृषि विकास बैंकको ७१.१८ प्रतिशत घटेर ७५ करोड २१ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ५९.१६ प्रतिशत घटेर ४९ करोड ५५ लाख रुपैयाँ, सानिमा बैंकको ३२.४० प्रतिशत घटेर ६५ करोड १४ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३१.०५ प्रतिशत घटेर १ अर्ब १३ करोड १७ लाख रुपैयाँ, एभरेष्टको १५.५२ प्रतिशत घटेर २ अर्ब ४० करोड ४९ लाख रुपैयाँ र नबिलको १२.६२ प्रतिशत घटेर १ अर्ब ८ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।