ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गरेका हुन् । शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन् । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
बैंकिङ क्षेत्र पूर्ण रूपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस् : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ढुक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । बैंकिङ क्षेत्र सबल र सक्षम रहेको बताउँदै राष्ट्र बैंकले हल्लाको पछाडि नलागी निर्धक्क रुपमा कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालाहरूलाई आग्रह गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ क्षेत्रको बारेमा अनावश्यक हल्ला फैलिरहेको र त्यसमा कुनै सत्यता नरहेकोमा स्पष्ट पारेको छ । साथै, बैक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेको बताउँदै राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको दावी गरेको छ । पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको छ । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा राष्ट्र बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको समेत बताएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको पनि जानकारी गराएको छ ।
नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसरमा गर्यो वृक्षारोपण
काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसर, कैलाश डाँडांमा वृक्षारोपण गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी, आलोक कुमार चौधरीले फागुन ४ गते नेपाल भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा आलोक कुमार चौधरीद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।