काठमाडौं । पूर्व बैंकरदेखि बहालवाला बैंकरलाई प्रहरीले पक्राउ गरेपछि नेपाल बैंकर्स संघले सम्बन्धित निकायलाई बैंकिङ बुझाई कम भएको निष्कर्ष निकालेको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको आकस्मिक बैठकले बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा गृह मन्त्रालयसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जानकारी गराई बैंकिङबारे सिकाउने निर्णय गरेको हो ।
संघको बैठकले धितोको विषयमा प्रहरीको बुझाइ गलत र बैंकरहरूले दु:ख पाएको निष्कर्ष निकालेको छ भने राष्ट्र बैंकलाई वर्तमान घटनाक्रमबारे जानकारी गराउने निर्णय गरेको बैठकमा सहभागी एक सीईओले जानकारी दिए । साथै, गृहमन्त्रालयसहित प्रहरीलाई बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका विषयमा बुझाउने भएको हो ।
मंगलबार केन्द्रिय अनुसन्धान ब्यूरोले प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपाने, साविक सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम लगायत १० जना बैंकरलाई पक्राउ गरेको थियो । बैंकरलाई पक्राउ गरेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएका हो ।