महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य भएको छ । बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना-एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरुको एनआइसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ ।
ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्रिन फाइनान्सिङ प्रवर्द्धनन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार सूचना प्रकाशन गरेर ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागिमात्रै खरिद आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन तथा सेयर विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । संस्थापक सेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकको आग्रह छ । बैंकका अनुसार तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने छ ।