बैंकले नगरपालिकामा पनि शाखा गाभ्न पाउने, ४ शाखा बन्द गरे गाउँमा नयाँ खोल्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब उपमहानगरपालिका र नगरपालिकाभित्र रहेका शाखा पनि समायोजन तथा एकीकरण गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले सहरी तथा सहरोन्मुख क्षेत्रमा रहेका शाखा समायोजन वा एकीकरण गर्न सक्नेछन् । यसरी शाखा गाभ्दा एक किलोमिटरको दूरीभित्र सञ्चालनमा रहेका शाखामध्ये कम्तीमा एउटा शाखा भने कायम राख्नुपर्नेछ ।

यस्तो व्यवस्था अनुसार प्रत्येक चारवटा शाखा बन्द गरेपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नरहेको ग्रामीण क्षेत्रको वडामा एउटा नयाँ शाखा खोल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  । तर, गाउँपालिका तथा ग्रामीण क्षेत्रमा रहेका शाखा वा अन्य कुनै पनि कार्यालय राष्ट्र बैंकको पूर्वस्वीकृतिबिना बन्द गर्न, स्थानान्तरण गर्न वा गाभ्न पाइने छैन ।

राष्ट्र बैंकले शाखा समायोजन गर्दा ग्राहकको हित र वित्तीय पहुँचलाई ध्यान दिनुपर्ने व्यवस्था पनि गरेको छ । शाखा गाभिएका कारण ग्राहकले कर्जा चुक्ता गर्न वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै शुल्क नलिई त्यस्तो सुविधा उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै, शाखा समायोजन वा एकीकरणकै कारण कर्मचारीलाई सेवाबाट हटाउन पाइने छैन । सम्बन्धित कर्मचारीलाई नजिकको शाखा वा उनीहरूको प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

शाखा समायोजन गर्दा सम्बन्धित क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित गर्नुपर्नेछ । साथै, शाखा समायोजन गरेको तीन कार्यदिनभित्र राष्ट्र बैंकको प्रतिवेदन पोर्टलमा विवरण अद्यावधिक गरी तोकिएको विवरण सम्बन्धित विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले शाखा वर्गीकरण गर्दा राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण’ प्रतिवेदनलाई आधार मान्नुपर्ने व्यवस्था पनि गरेको छ ।

Share News