कुमारी बैंकको २३ औं वार्षिकोत्सव, विभिन्न कार्यक्रमहरु आयोजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ । कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ । कुमारी बैंकको २३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीय स्तरमा रक्त बैंकका आवस्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ । यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मदत पू-याएको छ । विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ । यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैका लागि’ भन्ने मूल उदेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ्ग सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ । आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ्ग जगतलाई डिजिटल बैंकिङ्ग तर्फ अग्रसर गराउन कुमारी बैंक लिमिटेड प्रतिबद्ध छ ।  

सस्तो ब्याजमा ऋण दिन्छु भन्दा पनि ग्राहक नआउँदा तनावमा बैंकर

काठमाडौं । विगतमा बैंकको ब्याजदर उच्च भयो भन्दै उद्योगी व्यवसायीले आन्दोलन गरे । आर्थिक क्षेत्रका हरेक कार्यक्रममा उच्च ब्याजदरका कारण व्यवसाय विस्तार तथा कर्जा लिन नसकेको गुनासो सुनिन्थ्यो । कर्जाको ब्याजदर १७/१८ प्रतिशतसम्म पुग्यो । जबकी बैंकको औसत आधार दर १३ प्रतिशतभन्दा बढी थियो । बैंकको ब्याजदर उच्च भएका कारण कर्जा प्रवाह ठप्प भयो । अर्थतन्त्र नै चलायमान हुन नसकेको आरोप बैंकहरूले खेप्नु पर्याे । बैंकको ब्याजदर बढी भएरै कर्जाको माग घटेको होइन भनेर नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बारम्बार भन्दै आए । तर, उनी लगायतका बैंकरको कुरा कसैले सुनेनन् । बैंकरलाई गाली गर्न छाडेनन् । तर, यतिबेला बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा झरिसकेको छ । फागुनसम्म आधार दर औसत ८.७७ प्रतिशत रहेको तथ्याङ्क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । ‘एक/डेढ वर्षअघिसम्म उच्च ब्याजदर भयो भन्ने गुनासो मात्रै सनिन्थ्यो । हरेक कार्यक्रम, हरेक छलफलमा उच्च ब्याजदरको प्रश्नको फेस गरिरहे,’ बैंकर्स संघको नियमित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘अहिले ब्याजदर धेरै घटिसकेको छ । आधार दर नै ८.७७ प्रतिशतमा झरेको छ । यसले बैंकको कर्जा बढ्ने अपेक्षा थियो । कर्जा बढाउन सहयोग गर्छ भन्ने आशा थियो । तर, त्यो अपेक्षा अनुसार हुन सकिरहेको छैन । बैंकहरूमा ५ खर्ब बढी रकम थुप्रिएको छ ।’ उनका अनुसार ब्याजदर घट्दा कर्जा लगानी बढ्छ भन्ने तर्कले काम गरेन । ब्याजदर एकल अंकमा झरेको, ५ खर्ब बढी लगानीयोग्य रकम भएको र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१ प्रतिशत हुँदा पनि कर्जाको माग नआएको उनको भनाइ छ । ‘जुन लेभमा कर्जा बढ्ने अपेक्षा गरिएको थियो । त्यो हुन सकेको छैन । अर्थतन्त्र र बैंकका लागि चिन्ताको विषय हो,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठ उच्च ब्याजदर हुँदा कर्जाको मागमा संकुचन नआउने बताउँछन् । बैंकको ब्याजदर बाहेकका अन्य तत्वले पनि कर्जाको मागमा संकुचन आएको उनको भनाइ छ । ‘विगतमा बैंकको ब्याजदर छिटोछिटो बढ्यो । ब्याजदरका कारण कर्जा प्रवाह नभएको आम निष्कर्श थियो । तर, हामीले उच्च ब्याजदरका कारण कर्जा घटेको होइन, व्यवसाय सञ्चालन गर्दा वभिन्न कम्पोनेन्ट हुन्छन्, जसमध्ये ब्याजदर पनि एउटा सानो हो भन्दै आयौं,’ उनले भने, ‘अहिले एकल अंकमा ब्याजदर हुँदा पनि कर्जाको माग छैन । त्यसकारण कर्जा प्रवाहमा अन्य तत्व पनि जोडिएका हुन्छन् भन्ने पुष्टि पनि गरेको छ ।’ पुँजीगत खर्च नहुनु, निर्माण कार्य ठप्प वा व्यवसायीहरूले भुक्तानी नपाउँदा कर्जाको माग घटेको उनको तर्क छ । साथै, व्यवसायीको मनोबल नबढेका कारण पनि कर्जाको माग घटेको उनले बताए । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्म बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब १८ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए । एनएमबि बैंकका सीईओ समेत रहेका केसी आर्थिक चलायमान हुने क्षेत्र हाउजिङ, अटो लगायतको कर्जाको ब्याजदर घटाउँदा समेत माग नआएको बताउँछन् । ‘कर्जा बढाउन ब्याजदर निरन्तर घटाइरहेका छौं । समग्र अर्थतन्त्र चलायमान होस् भनेर हाउजिङ, इलेक्ट्रिकल भेइकल लगायतको कर्जाको दर एकल अंकमा झारिसकेका छौं,’ उनले भने । उनका अनुसार विदेशमा ब्याजदर नघटेपनि बढ्ने ट्रेण्ड भने रोकिएको छ । अमेरिकमा ५.५ प्रतिशत, यूरोपमा ४ प्रतिशत, इङग्ल्याण्डमा ५ प्रतिशत र भारतमा साढे ६ प्रतिशत छ । यी देशमा अब ब्याजदर विस्तारै घट्नेक्रम रहेकाले नेपालमा पनि थप घटाउन मद्दत पुग्ने उनले बताए । ‘विश्वको तुलनामा नेपालमा धेरै घटिसकेको छ । विश्वमा ब्याजदर घट्दा नेपालमा पनि थप घट्न मद्दत पुग्छ,’ उनले भने ।

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्राइभेट लिमिटेडबीच नगदरहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायीको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका हुन् । यससँगै गण्डकी ट्याक्सी व्यवसाय प्रा।ली।सँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरुको प्रभु बैंक लिमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्था, अन्य गेट-वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायी सहमत भएका हुन् । कार्यक्रममा फोन पे को तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकद्धारा उपलब्ध गराइएको क्युआर मार्फत् विना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकलाई उपलब्ध गराइने योजना रहेको छ । कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरूका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरू सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामूलक सामाग्री प्रस्तुत गरिएको थियो । पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरू समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।