सिद्धार्थ बैंकद्वारा विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ग्लोबल मनी विकमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले मार्च १८ देखि २४ सम्म ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको थियो । कार्यक्रममा १ हजार ७ सय ६० जना विद्यार्थीको सहभागिता थियो । विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमसम्बन्धी व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले ३२४ जना विद्यार्थीलाई बैंकका विभिन्न शाखा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

एनआईसी एशियाको ग्लोबल मनी वीक: सातै प्रदेशका विद्यार्थी तथा युवा लाभान्वित

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न गरेको छ । बैंकले देशभरका हजारौं विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी वीक २०२४’ का अवसरमा यस बैंकका सातै प्रदेशका सयभन्दा बढी शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियानबाट मुलुकभरका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् भने ३० भन्दा धेरै शाखाहरुले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीहरुलाई आफ्नो शाखा भ्रमण समेत गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका थिए । तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत विद्यार्थीहरुलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेका थिए । त्यसैगरी, बैंकले राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका तथा विद्यार्थीहरुमाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ । यसै सन्दर्भमा नेपालमा पनि २०८० चैत ५ गतेदेखि ११ गतेसम्म प्रोटेक्ट योर मनि, सेक्योर योयर फ्युचर भन्ने नाराका साथ ग्लोबल मनी वीकको १२ औं शृङ्खला मनाइएको हो । यस विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । यस बैंकले पनि विगतका वर्षहरुमा समेत यसै सन्दर्भमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइएको छ ।

महिनामै साढे तीन प्रतिशतले घट्यो ब्याज, यी हुन् सस्तोमा ऋण पाइने बैंक

काठमाडौं । वाणिज्य बैंकको ब्याज घट्दै गएको छ । बैंकहरूले प्रकाशित गरेको तथ्यांकअनुसार फागुनको तुलनामा चैतमा बैंकहरूको आधारदर ३.२४ प्रतिशतले घटेको छ । फागुनमा १०.१३ प्रतिशत रहेको बैंकको आधारदर चैतमा घटेर ९.८५ प्रतिशत रहेको छ । बिन्दुगत आधारमा भने ०.३०४ प्रतिशत आधारदर घटेको छ । तथ्यांकअनुसार सबैभन्दा कम आधादर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको ७.५२ प्रतिशत रहेको छ । आधारदर कम भएको बैंकको ब्याजदर पनि कम हुन्छ । हाल बैंकको स्प्रेडदर ४ प्रतिशत कायम गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ । यस्तै, प्रभु बैंकको आधारदर ९.०६ प्रतिशत, एभरेष्टको ८.३९ प्रतिशत, सानिमाको ८.९७ प्रतिशत, माछापुच्छ«को ९.२६ प्रतिशत, सिटिजन्सको ९.५८ प्रतिशत, नेपाल बैंकको ८.५७ प्रतिशत, कुमारी बैंकको १०.०१ प्रतिशत, एनआईसी एसियाको ९.१३ प्रतिशत, लक्ष्मी सनराइजको ९.६४ प्रतिशत आधारदर रहेको छ । यस्तै, कृषि विकास बैंकको ९.३६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.६२, ग्लोबल आइएमई बैंकको ९.०९ प्रतिशत, नबिलको ८.६१ प्रतिशत, नेपाल एसबिआईको ९.११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.८१ प्रतिशत, सिद्धार्थको ८.९८ प्रतिशत, प्राइमको १०.०५ प्रतिशत, एनएमबिको ९.४१ प्रतिशत, हिमालयनको ९.८५ प्रतिशत र हिमालयनको आधारदर ९.८५ प्रतिशत रहेको छ ।