चैतमा ६ बैंकले घटाए ब्याजदर, अधिकतम ५ प्रतिशत पाइने

काठमाडौं । वाणिज्य बैंकहरूको चैतमा पनि ब्याजदर घटेको छ । आज चैत १ गतेदेखि लागू हुने गरी विभिन्न ६ बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  चैत महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०८ प्रतिशत घटेर औसत ४.४९ प्रतिशतमा झरेको छ । जबकि फागुनमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.५७ प्रतिशत थियो । यस्तै, चैतमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०४ प्रतिशत घटेर ३.२९ प्रतिशतमा झरेको छ । यसअघि फागुनमा संस्थागततर्फ औसत ३.३३ प्रतिशत ब्याजदर थियो । चैत महिनाका लागि ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैतमा ब्याजदर घटाएका हुन् । यस्तै, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, असारसम्म पुनर्तालिकीकरण गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’का लागि तीन देखि १० वर्षको कर्जा प्रदान गर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्नेछ ।  यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम निर्धारण गर्नुपर्ने व्यवस्था संशोधित कार्यविधिमा राखिएको छ । यसअघि प्रवाह भएको ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’को आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एक पटकका लागि मात्र पुनर्तालिकिकरण गर्न सकिने व्यवस्था ल्याइएको छ । यसरी गरिएको कर्जा पुनर्तालिकिकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकिकरण भएको नमानिने उल्लेख छ । त्यस्तै, राष्ट्र बैंकले एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायमा प्रवाहित कर्जालाई पनि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरेको छ । ‘यो शीर्षकमा प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तको अधिनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिनेछ,’ संशोधित एकीकृत निर्देशनमा भनिएको छ । यस्तो पुनरर्तालिकीकरण र पुनर्संरचना २०८३ असार मसान्तभित्र गरिसक्नु पर्नेछ । यसरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दाको समयमा कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई दियो शैक्षिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । तिलगंगा, काठमाडौंस्थित उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा पठनपाठनलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एक कार्यक्रमका बीच संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । बैंकका अनुसार यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसअघि पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै सातै प्रदेशका विभिन्न विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्ने काम गरिसकेको छ । शान्ति सेवा गृहमा रहेका विद्यार्थीहरूलाई गरिएको शैक्षिक सामग्री सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन तथा शैक्षिकस्तर सुधार गर्न थप सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।