अब नेपालमा भारू २ सय र ५ सयका नोट चल्ने, बैंकले पनि सहजै साट्ने

काठमाडौं । अब नेपालमा भारतीय रुपैयाँ (भा.रू.) २ सय र ५ सय दरका नोट बैंकिङ प्रणालीमार्फत पनि सटही गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै यस सम्बन्धी व्यवस्था स्पष्ट गरेको हो । 

राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ देखि जारी भई चलनचल्तीमा रहेका भा.रू. २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म प्रचलित व्यवस्था बमोजिम नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन् । 

यसअघि नेपाल राजपत्रमा भा.रू. २०० र ५०० दरका नोट नेपालमा चलाउन सकिने व्यवस्था भए पनि बैंकिङ प्रणालीमा सटहीसम्बन्धी स्पष्ट निर्देशिका थिएन । राष्ट्र बैंकले परिपत्र संशोधनमार्फत सोही व्यवस्थालाई कार्यान्वयनमा स्पष्टता दिएको हो ।

यसअघि सन् २०१६ नोभेम्बर ९ देखि निष्काशन रहेका भारतीय २००, ५०० र २००० दरका नोटको कारोबार पूर्ण रूपमा निषेध थियो । साथै, बैंकिङ प्रणालीमार्फत उक्त दरका नोट सटहीसम्बन्धी स्पष्ट व्यवस्था नभएकाले व्यवहारमा अन्योल देखिएको थियो । 

राष्ट्र बैंकले नयाँ परिपत्रमार्फत उक्त व्यवस्था स्पष्ट पारेपछि अब भा.रू. २०० र ५०० दरका नोट नेपालका बैंक तथा नेपाल राष्ट्र बैंकमार्फत सहज रूपमा सटही गर्न सकिने भएको छ । यद्यपि, भारतीय २ हजार दरका नोटको कारोबार तथा सटही गर्न नपाइने व्यवस्था भने यथावत रहेको जनाएकाे छ ।

Share News