माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा प्रसिद्धराज अर्याल, डीसीईओमा सुभाष जमरकट्टेल

काठमाडौं । माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा दुई उच्च अधिकारीलाई पदोन्नति गरेको छ । बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैंकका अनुसार अर्यालसँग बैंकिङ क्षेत्रको करिब दुई दशकभन्दा बढी अनुभव छ । काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका उनले कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायतका क्षेत्रमा काम गरिसकेका छन् । उनी यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी बैंकर हुन् । त्यस्तै, वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका सुभाष जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्यान्डबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन् । बैंकले अर्याल र जमरकट्टेल दुवैले आफ्नो बैंकिङ करिअरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरूको नेतृत्व, अनुभव र दक्षताले संस्थाको आगामी व्यावसायिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । 

विश्वकपका गोल बराबर ३३३ रैथाने बिरुवा रोप्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रीन’ अभियानलाई प्रभावकारी बनाउन डब्लूडब्लूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग सहकार्य गरेको छ । बैंकले फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलमा भएको प्रत्येक गोल बराबर एउटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता अनुसार अभियान अघि बढाएको जनाएको छ । विश्वकपभर ३३३ गोल भएपछि बैंकले ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता पूरा गर्ने भएको छ । यस सहकार्यअन्तर्गत डब्लूडब्लूएफ नेपालले प्रजाति छनोट, उपयुक्त रोपाइँ क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउनेछ । काम्दी सामुदायिक वन समन्वय समितिले स्थानीय जैविक विविधताअनुकूल रैथाने बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ । लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता भएको उल्लेख गर्दै ‘द गोल इज ग्रीन’ अभियानले खेलप्रतिको उत्साहलाई जलवायु संरक्षणसँग जोडेको बताए । डब्लूडब्लूएफ नेपालको संरक्षणसम्बन्धी विशेषज्ञताले अभियानलाई अझ प्रभावकारी र दिगो बनाउने विश्वास उनले व्यक्त गरे । डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल रूख रोप्ने कार्य नभई उपयुक्त स्थानमा रैथाने प्रजातिको रोपाइँ र स्थानीय समुदायको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापनाको प्रयासलाई थप सुदृढ बनाउने र स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे । बैंकका अनुसार ‘द गोल इज ग्रीन’ अभियानले दिगोपनलाई वित्तीय सेवामा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्दै ग्राहक, व्यवसाय र समुदायलाई सामूहिक जलवायु अभियानमा सहभागी गराउने तथा नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपालपे’ कार्डको इस्युइङ (जारी) तथा एक्वायरिङ (स्वीकार) सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यका साथ बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउनुका साथै आफ्ना एटीएममार्फत उक्त कार्ड स्वीकार गर्ने व्यवस्था गरेको हो । बैंकका अनुसार नेपालपे कार्डमार्फत नेपालभित्रका विभिन्न एटीएम तथा पीओएस टर्मिनलमा कारोबार गर्न सकिनेछ । साथै, ‘डिस्कभर’ नेटवर्कसँगको सहकार्यपछि नेपालपे कार्ड अन्तर्राष्ट्रिय स्तरमा समेत प्रयोग गर्न सकिने व्यवस्था भएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय डिस्कभर तथा आरयुपे कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने जनाइएको छ । हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध भइसकेका छन् । तीमध्ये सात वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी संस्थाले कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याइसकेका छन् । कामना सेवा विकास बैंकका देशभर करिब आठ लाख ग्राहक रहेका छन् । बैंकले हाल १२२ शाखा, एक एक्स्टेन्सन काउन्टर र ६६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । पछिल्लो समय बैंकले डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्दै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा सुधार गर्दै आएको र आगामी दिनमा डिजिटल सेवाको पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।