काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। बुधबार आयोजित मूल समारोहको उद्घाटन राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले गरेका हुन् ।
संघका अध्यक्ष रबिन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारीका जायज मागलाई व्यवस्थापनले सम्बोधन गर्नुपर्ने र बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सरल तथा सहज बनाउन सबै कर्मचारीले भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्मराज मैनाली, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका सल्लाहकार समिति सभापति तथा पूर्वअध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ (राष्ट्रिय वाणिज्य बैंक) का अध्यक्ष सुदिन केसी तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय वाणिज्य बैंक) का कार्यवाहक अध्यक्ष चुडामणि गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरूले कर्मचारीको पेसागत हकहितको संरक्षण, संस्थाको सुदृढीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए ।
संघले वार्षिकोत्सवको अवसरमा देशभरका प्रदेश समितिमार्फत पनि विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारीले रक्तदान गरेका थिए भने स्वास्थ्य शिविर तथा आँखा, कान र स्वास्थ्य परीक्षण कार्यक्रममा करिब ३०० जना कर्मचारीले सेवा लिएका थिए ।
कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको भन्दै लुम्बिनी प्रदेश समितिलाई ‘रनिङ शिल्ड’ प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा ‘संस्थाको संवर्द्धन र पेसागत हकहितमा ट्रेड युनियनको भूमिका’ विषयमा आयोजित निबन्ध प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय तथा लक्ष्मण पौडेल तृतीय भएका थिए । विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको संघले जनाएको छ ।
कार्यक्रमको सञ्चालन संघका महासचिव ऋषिराम ज्ञवालीले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष कबिराज बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष, विभिन्न ट्रेड युनियनका प्रतिनिधि, बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव सफल बनाउन योगदान पुर्याउने कार्यकारिणी समिति, केन्द्रीय समिति, प्रदेश समिति, लेखा समिति, सदस्य तथा सम्पूर्ण कर्मचारीप्रति संघले आभार व्यक्त गरेको छ ।