काठमाडौं । इ–सेवा, खल्ती वा अन्य कुनै पनि डिजिटल वालेट खातामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकका लागि वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखबाट विवरण यकिन गरी मात्र वालेट खोल्ने व्यवस्था गर्नुपर्नेछ ।
यस्तै, सबै वालेट सेवा प्रदायकले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको सम्बन्धमा स्वःघोषणा लिनुपर्नेछ । राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर वालेटमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई परिचयपत्र बनाएर ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्न प्रत्येक महिनामा मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबिना अन्य आवश्यक कागजातका आधारमा डिजिटल वालेट खोल्न सक्नेछन् । तर, नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित वालेट सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण लिएर ग्राहक पहिचान अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभए अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।