एभरेष्ट बैंकको बानेश्वर शाखाले आफ्नै भवनबाट थाल्यो कारोबार

काठमाडौं । एभरेष्ट बैंकको बानेश्वरस्थित शाखा कार्यालयले आफ्नो भवनबाट कारोबार सुरु गरेको छ । बुधबार एक विशेष कार्यक्रम गरी बैंकले साबिकको स्थानबाट करिब १५० मिटर पश्चिमस्थित आफ्नै नवनिर्मित भवनबाट बैंकिङ सेवा सुरु गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । समारोहमा अध्यक्ष डा. वैद्यले बैंक सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । साथै, सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार को पनि शुभारम्भ गरेको छ ।

गाडी किन्न बैंकले दिए १ खर्ब बढी ऋण, आधार दरमा ०.२५ % मात्रै प्रिमियम

काठमाडौं । पछिल्लो तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले १ खर्बभन्दा बढी सवारी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २० वटा बैंकले १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ सवारी साधन खरिदका लागि कर्जा लगानी गरेका हुन् । सबैभन्दा धेरै सवारी कर्जा दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले १३ अर्ब ८१ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेको हो । यस्तै नबिल बैंकले १० अर्ब ६६ करोड रुपैयाँ, हिमालयन बैंकले ७ अर्ब ३४ करोड रुपैयाँ, कुमारी बैंकले ६ अर्ब ७९ करोड रुपैयाँ, प्राइम बैंकले ५ अर्ब ९७ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ९३ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेका हुन् । एनएमबी बैंकले ५ अर्ब ९० करोड रुपैयाँ, प्रभु बैंकले ५ अर्ब ७८ करोड रुपैयाँ, सानिमा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १७ करोड रुपैयाँ, सिटिजन्स बैंकले ४ अर्ब ५९ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ४ अर्ब १८ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंकले ४ अर्ब २ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ७६ करोड रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ४८ करोड रुपैयाँ, कृषि विकास बैंकले ३ अर्ब ३० करोड रुपैयाँ, स्टयाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४० करोड रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । ब्याजदर कस्तो छ ? बैंकहरुले सस्तो ब्याजमा कर्जा लगानी गरेका छन् । अधिकांश बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम लिएर कर्जा लगानी गरेका छन् । न्यूनतम आधार दरमा न्यूनतम ०.२५ प्रतिशत र अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम तोकेका छन् । बैंकहरु पेट्रोलियम गाडीभन्दा पनि विद्युतीय गाडीमा बढी प्राथमिकता दिएका छन् ।   कृषि विकास बैंक कृषि विकास बैंकको आधार दर ८.०९ प्रतिशत रहेको छ । बैंकले आधार दरमा न्यूनतम २ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । स्थिर कर्जाका लागि भने बैंकले आधार दरमा ४ प्रतिशत प्रिमियम दर तोक्ने जनाएको छ । एभरेष्ट बैंक पछिल्लो तथ्याङ्क अनुसार एभरेष्ट बैंकको आधार दर ७.२९ प्रतिशत रहेको छ । सवारी कर्जाका लागि बैंकले आधार दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३.५ प्रतिशत प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जामा भने बैंकले न्यूनतम ९.५० प्रतिशतदेखि १२.५० प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंक नेपाल बैंकले सवारी कर्जाका लागि आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्न सक्नेछ । बैंकको आधार दर ७.९७ प्रतिशत रहेको छ । स्थिर कर्जामा भने बैंकले १३.५० प्रतिशत ब्याजदर तोकेको छ । कुमारी बैंक कुमारी बैंकको आधार दर ८.८९ प्रतिशत रहेको छ । बैंकले सवारी कर्जा खरिद गर्नका लागि आधार दरमा न्यूनात १ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म प्रिमियम दर निर्धारण गर्ने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले सवारी कर्जा प्रवाह गर्दा आधार दर ६.७१ प्रतिशतमा न्यूनतम १.२५ प्रतिशतदेखि ३.२५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । सवारी कर्जामा बैंकले न्यूनतम ९ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबीआई बैंक नेपाल एसबीआई बैंकले हायर पर्चेज कर्जामा ३ वर्ष अवधिका लागि १२.५० प्रतिशत र १० वर्ष अवधिका लागि १३ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । तर, फ्लटिङ ब्याजदरमा भने ०.२५ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने बैंकको भनाइ छ । लक्ष्मी सनराइज बैंक लक्ष्मी सनराइज बैंकले अटो लोनका लागि आधार दरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ । बैंकले स्थिर कर्जामा भने १५ वर्ष अवधिसम्म ८.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले आधार दर ८.०९ प्रतिशतमा ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । स्थिर कर्जामा भने बैंकले ५ वर्ष अवधिको ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशत, १० वर्ष अवधिको १०.९९ प्रतिशतदेखि ११.४९ प्रतिशत र १० वर्ष माथिको लागि ११.४९ प्रतिशतदेखि ११.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । प्राइम बैंक  प्राइम बैंकले हायर पर्चेज कर्जामा व्यावसायिक तथा व्यक्तिगत सवारी खरिदका लागि आधार दर ८.४९ प्रतिशतमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जामा भने सवारी खरिद गर्न भने बैंकले न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंक सानिमा बैंकको आधार दर ७.८३ प्रतिशत रहेको छ । बैंकले सवारी साधन खरिद गर्न आधार दरमा न्यूनतम न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । सवारी साधन खरिदका लागि बैंकले स्थिर कर्जामा १२.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । सिटिजन्स बैंक  सिटिजन्स बैंकले सवारी साधन खरिदका लागि आधार दर ८.२६ प्रतिशतमा न्यूनतम ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । सवारी साधन खरिद गर्नका लागि बैंकले स्थिर कर्जामा ५ वर्ष अवधिको लागि १०.५० प्रतिशत र १० वर्ष अवधिका लागि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंक प्रभु बैंकले सवारी खरिद गर्ने ऋणीलाई आधार दर ८.०२ प्रतिशतमा न्यूनतम २ प्रतिशतदेखि ४.५० प्रतिशतसम्म प्रिमियम दर तोक्ने बताएको छ । स्थिर कर्जाको ब्याजदर भने बैंकले ५ वर्ष अवधिका लागि ९.५० प्रतिशत र ५ वर्ष अवधिभन्दा माथिको लागि ११.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले सवारी कर्जाका लागि आधार दर ८.२६ प्रतिशतमा न्यूनतम न्यूनतम ०.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकले सवारी खरिदका लागि स्थिर कर्जामा भने ५ वर्ष अवधिका लागि १० प्रतिशत र १० वर्ष अवधिका लागि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एनएमबी बैंक एनएमबी बैंकले सवारी साधन खरिद गर्नका लागि आधार दर ८.४२ प्रतिशतमा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । स्थिर कर्जामा भने ५ वर्ष अवधिका लागि १०.१० प्रतिशत र ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले सवारी साधनको कर्जाको दरहरू भने सार्वजनिक गरेको छैन । तर, बैंकले कर्जा प्रवाह गर्दा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । स्थिर कर्जाको ब्याजदर भने बैंकले १३.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधार दर भने ६.६ प्रतिशत रहेको छ । हिमालयन बैंक सवारी खरिद गर्नका लागि ऋण माग्न जाँदा हिमालयन बैंकले सवारी कर्जामा स्थिर ब्याजदर १०.७५ प्रतिशत तोकेको छ । बैंकले आधार दर ९.०८ प्रतिशतमा ०.५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आधार दर ७.६९ प्रतिशतमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकको स्थिर कर्जाको ब्याजदर भने न्यूनतम १० प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म निर्धारण गर्नेछ । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले सवारी साधन कर्जाका लागि आधार दर ८.११ प्रतिशतमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ३.२५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । स्थिर कर्जाको ब्याजदर भने बैंकले न्यूनतम ९.९९ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले सवारी कर्जाका लागि आधार दर ८.१९ प्रतिशतमा न्यूनतम ०.२५ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जाको ब्याजदर भने बैंकले ११.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । नबिल बैंक नबिल बैंकले आधार दर ७.६३ प्रतिशतमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म प्रिमियम दर तोक्ने बताएको छ । स्थिर कर्जाको ब्याजदर भने बैंकले ५ वर्ष अवधिका लागि ९.९९ प्रतिशत र ७ वर्ष अवधिका लागि १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपालीलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध लगाएको बताएको छ । वित्तीय चेतनाका लागि एक सूचकना प्रकाशन गरी नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा भएको व्यवस्थाका बारेमा जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपाल फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकार राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।