सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रान्क्विलिटी स्पामा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै ट्रान्क्विलिटी स्पासँग छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै, बैंकका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी तथा ट्रान्क्विलिटी प्रालिकी लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन् । सम्झौता २०८३ साल साउनदेखि दुई वर्षका लागि लागू हुने जनाइएको छ ।

बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । 

Share News