सानिमा बैंकका ग्राहकले दराजमा सामग्री खरिद गर्दा छुट पाउने

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि बडादशैंको अवसरमा दराजसँग ‘दशैं धमाका योजना’मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएकाे छ । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । छुटबारेको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

साइपालमा एभरेष्टको शाखा, ७५३ पालिकामै पुग्यो बैंककाे पहुँच

काठमाडौं । बझाङकाे साइपाल गाउँपालिकाका जनतालाई अब बैंकिङ काराेबार गर्न सदरमुकाम चैनपुर जानपर्ने अवस्थाकाे अन्त्य भएकाे छ । साइपाल गाउँपालिकाको धलौनमा बुधबार एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएसँगै चैनपुर धाउने अवस्थाकाे अन्त्य भएकाे हाे । साइपाल गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंकको शाखा बिस्तार भएको हाे। यसभन्दा पहिला साइपालका स्थानीय तीन दिन हिँडेर चैनपुर गरी बैंकिङ काराेबार गर्दै आएका थिए । गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बैंककाे शाखा खुलेसँगै अब स्थानीयले काराेबारका लागि सदरमुकाम धाउन नपर्ने बताइन् । साथै उनले बैंक स्थापनाका लागि विभिन्न निकाय धाएकाे पनि बताइन् । गाउँपालिकामा बैंकिङ काराेबार नहुँदा साइपाल गाउँपालिकाले सात वर्षदेखि जिल्ला सदरमुकाम चैनपुरको एक घर भाडामा लिएर चलिरहेको छ । २०७४ सालमा राष्ट्र बैंकले साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएकाे भए पनि बैंकले सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार उपलब्ध नभएकाे भन्दै शाखा खाेल्न मानेकाे थिएन। गाउँपालिकाले बैंकका लागि सहज वातावरण तयार पारिदिने भनेपछि शाखा खुलेकाे हाे । गत वर्षकाे चैतमा राष्ट्र बैंकको टोलीले बैंक स्थापनाको लागि अवस्था अध्ययन गरेको थियो  ।

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ । विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दूर दराजमा रहेका ग्राहकहरूले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै, उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर (नियो रेमिट) तथा युनाईटेड रेमिटबीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर (नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।