सिद्धार्थ बैंकले ल्यायो दशैंमा ‘डबल रिवार्ड्स अफर’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दशैंकाे उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । बैंकले ‘डबल रिवार्ड्स अफर’ ल्याएकाे हाे । यस अफर अन्तर्गत बैंकका ग्राहकहरूले असाेज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । ग्राहकले सिद्धार्थ बैंकको कार्ड र माेबाइल बैंकिङ प्रयाेग गरी आर्जन गरेकाे पाेइन्ट्सलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदिजस्ता विभिन्न सेवा लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् । सिद्धार्थ बैंकले यो अफरमार्फत ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा लिएकाे छ । यस अफरको बारेमा थप जानकारी लिन बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र र ‘सिद्धार्थ केयर’ मार्फत सकिनेछ ।

एनएमबि बैंकद्वारा ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सातजना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरूमा अग्रिमरूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो । विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य एनएमबि बैंकले लिएको छ । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चारपटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

शोधनान्तर स्थिति पौने ४१ अर्बले बचतमा, विदेशी लगानी घट्यो

काठमाडौं । कुनै समय घाटामा रहेको चालु खाता एवम् शोधनान्तर स्थिति पछिल्लो समय बलियो बन्दै गएको छ । नेपाल राष्ट्रका अनुसार गत साउनसम्म चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) २ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।