एनएमबि बैंकको पौने २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापकको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । इच्छुकले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । यदि ३५ दिनभित्र संस्थापकले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
आज सेयरधनी बने कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पाइने
काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज १५ गते बुक क्लोज गर्दैछ । त्यसैले आज असोज १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले असोज ३० गते बुधबार बिहान साढे १० बजे नक्साल काठमाडौंमा १८औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै बैंकको सभाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी नाफा भएको वर्ष वितरण गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
महालक्ष्मी विकास बैंकले गर्याे चणिकलाल तामाङलाई सम्मान
काठमाडौं । महालक्ष्मी विकास बैंकले चणिकलाल तामाङलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिका १३ नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ जनालाई उद्धार गरेका तामाङलाई बैंकले सम्मान गरेको हो । काभ्रेको तेमाल गाँउपालिका ९ घर भएका ३३ वर्षीय तामाङले बाढीले बगाएका २ जनालाई सकुशल उद्धार गरेका थिए । जोखिम मोलेरै तामाङले साहस, अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गरेका थिए । आइतबार केन्द«ीय कार्यालयमा आयोजित एक कार्यक्रममा तामाङको साहसलाई सम्मान गर्दै १ लाख रुपैयाँ नगद सहित सम्मान गरेको बैंकले जनाएको छ । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । ३० वर्षदेखि सेवा दिँदै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाख ग्राहक रहेका छन् ।