उत्कृष्ट ठहरिँदै माछापुच्छ्रे बैंकले पायो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको आधारमा माछापुच्छ्रे बैंकले दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ ।

बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवाड्र्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ (ग्राहक संलग्नता अभिवृद्धि) विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको हो । 

ग्राहकको खाता खोल्ने लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउन सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलकदमीको मूल्यांकन गर्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

विश्वभरका वित्तीय संस्थाले प्रविधि र ग्राहक केन्द्रित सेवामा गरेका उत्कृष्ट कार्यलाई सम्मान गर्ने यस कार्यक्रमको सन् २०२६ को संस्करणमा ९ विधामा ५०० भन्दा बढी आवेदनहरूमध्येबाट विजेता छनौट गरिएको थियो । 

यसैगरी, बैंकले अर्को अन्तर्राष्ट्रिय सम्मानस्वरूप ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ (जोखिम व्यवस्थापनमा सर्वोत्कृष्ट प्रदर्शन) अवार्ड समेत प्राप्त गरेको छ ।

इन्डियन चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स २०२६’ मा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । 

कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट प्रयास र सुरक्षित एवं जिम्मेवार बैंकिङ अभ्यासको कदर गर्दै यो सम्मान दिइएको हो ।

बैंकले यसअघि पनि भिसा लिडरसिप कन्क्लेभ अवार्ड (२०२३ र २०२४), इन्फोसिस फिनाकल इनोभेसन अवार्ड (२०२३ र २०२५), तथा राइजिङ स्टार इन असेट क्वालिटी अवार्ड (२०२५) जस्ता थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेको छ । 

Share News