नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाईन दराजबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म छुट हुने बैंकले जनाएको छ । क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २,००० रुपैयाँ बराबरको छुट प्राप्त गर्न सकिनेछ । छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरि ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यो योजना २०८१ साल असोज ११ गते देखि २०८१ साल असोज २१ सम्म लागू हुने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकबाट बाहिरिए डीसीईओ थापा, एक दशक काम गरेको संस्थामा फर्किए

काठमाडौं । माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जुकुमार थापा बैंकबाट बाहिरिएका छन् । एक साताअघि मात्रै थापाले माछापुच्छ्रे बैंक छाडेका हुन् । बैंकिङ क्षेत्रमा साढे दुई दशक अनुभव भएका बैंकर थापा चार वर्षअघि अर्थात् २०७८ फागुनमा बैंकको डीसीईओ बनेका थिए । उनी स्वेच्छिक अवकास सुविधा (भीआरएस) लिएर बैंकबाट बाहिरिएका हुन् । शंकरदेव क्याम्पसबाट २०५६ सालमा स्नातकोत्तर गरेका थापाले बैंकिङ करिअर भने साविक बैंक अफ काठमाण्डूबाट गरेका थिए । २०५७ सालबाट बैंकिङ करिअर सुरु गरेका थापा त्यसको चार वर्षपछि माछापुच्छ्रे बैंक गएका थिए । उनले त्यतिबला पनि माछापुच्छ्रे बैंक छोडेर सानिमा बैंकमा प्रवेश गरेका थिए । करिब एक दशक सानिमा बैंकमा काम गरेर उनी २०७० सालमा फेरि माछापुच्छ्रे बैंकमा सिनियर म्यानेजरका फर्किएका थिए । उनले यो अवधिमा माछापुच्छ्रेमा डीसीईओसम्म बढुवा भएर काम गरे । माछापुच्छ्रेमा काम गरेको १२ वर्षपछि उनी पुनः सानिमा बैंकमा प्रवेश गरेका हुन् । उनले सानिमा बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा काम थालेका हुन् ।

राष्ट्र बैंकले फेर्यो उपभोक्ता मूल्य सूचकाङ्क गणनाको आधार वर्ष

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क गणनाको आधार वर्ष फेरेको छ । आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर राष्ट्र बैङ्कले आधार वर्ष फेरेको हो । नयाँ मूल्य सूचकाङ्कमा एक सय ३६ नयाँ वस्तु थपिएको छ । राष्ट्र बैङ्कले आज पत्रकार सम्मेलन गरेर नयाँ सूचकाङ्कअनुसार पाँच सय २५ वस्तु कायम रहने जानकारी गराएको हो । यसअघि राष्ट्रबैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै आएको थियो । राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले नयाँ मूल्य सूचकाङ्कमा राष्ट्र बैङ्कको प्रयोगमा नआएका एक सय छ वस्तु हटाएर एक सय ३६ नयाँ वस्तु थप गरिएको जानकारी दिए । निर्देशक भट्टले भने, ‘यसअघि उपभोक्ता मूल्य सूचकाङ्कको बास्केटमा ४८० वस्तु रहेको थियो, अब नयाँ सूचकाङ्कमा ५२५ वस्तु कायम गरिएको छ ।’ उनले अब कतिपय वस्तुहरूका समूहसमेत परिवर्तन गरिएको जानकारी दिए । नयाँ मूल्य सूचकाङ्कले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने भन्दै उनले अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने दावी गरे । राष्ट्र बैङ्कले राष्ट्रिय तथ्याङ्क कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क विभागको सहयोगमा १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गरौं भनेको निर्देशक भट्टले बताए । नयाँ मूल्य सूचकाङ्क सार्वजनिक भएपछि तथ्याङ्कलाई थप पारदर्शी र यथार्थपरक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिको तथ्याङ्क र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्नका लागि नयाँ तथ्याङ्कले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपाली बजारका वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैङ्कले सार्वजनिक गर्ने तथ्याङ्क नमिल्ने भन्ने गुनासो आउनु स्वाभाविक हो, कहिलेकाहीँ कुनै घटनाले तथ्याङ्कअनुसार मूल्य मिल्दैन,’ उनले भने, ‘जस्तो केही कारण काठमाडौं छिर्ने मालवाहक सवारीसाधन रोकियो कुनै पनि सामानको मूल्य बढ्न गई त्यसको ‘रिफलेक्सन’ राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिँदैन ।’