ईपीएस हेरेर सेयर किन्दा कुन बैंक राम्रो ?

काठमाडाैं । प्रतिशत सेयर आम्दानीका आधारमा वाणिज्य बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्डको सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (ईपीएस) रहेको देखिएको छ । स्ट्याण्डर्ड चार्टर्डको ईपीएस ३६.५५ रुपैयाँ छ भने एभरेष्ट बैंकको ३४.८ रुपैयाँ रहेको छ । यसैगरी, नेपाल एसबीआईको ३१.०३, नबिल बैंकको २९.८३, प्राइम कमर्सियल बैंकको २६.५३, एनएमबी बैंकको २४.९५, प्रभु बैंकको १७.६४, माछापुच्छ्रे बैंकको १७.३२, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.१६ र ग्लोबल आइएमई बैंकको १६.७४ रुपैयाँ ईपीएस रहेको छ । यसैगरी, कुमारी बैंकको १६.४४, नेपाल बैंकको १६.३९, हिमालयन बैंकको १३.४२, सानिमा बैंकको ११.५५, सिद्धार्थ बैंकको १०.६४, लक्ष्मी सनराइज बैंकको ९.२५, सिटिजन्स बैंकको ५.५८ र राष्ट्रिय वाणिज्य बैंकको ३.८७ रुपैयाँ ईपीएस रहेको विवरणमा उल्लेख छ । यस्तै, कृषि विकास बैंक र एनआईसी एशिया बैंकको क्रमशः ३.२५ र २.९१ रुपैयाँ ईपीएस रहेको छ ।

नबिल बैंकको नाफा ४० प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ५ अर्ब

काठमाडाैं । नबिल बैंकले २ अर्ब बढी नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको हो । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको हो । यस्तै, बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा करिब ५ अर्ब अर्थात् ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वितरणयोग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी २९.८३ रुपैयाँ र खराब कर्जा ४.२४ प्रतिशत छ । बैंकको सञ्चालन नाफा बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको कर्जा लगानी र निक्षेप संकलन बढेको छ । बैंकको कर्जा बढेर ३ खर्ब ८१ अर्ब २८ करोड ९० लाख र निक्षेप ४ खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

तिहारमा कुमारी बैंकले ल्यायो क्यासब्याक अफर, ५०१ रुपैयाँसम्म पाइने

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै  ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको हो । बैंकले कार्तिक १४ देखि २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिने बताएको छ । भाई टिका तथा किजा पूजाको दिनमा मोबाईल बैकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने छ । साथै, अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरूमा हुने वित्तिय कारोबारहरू विद्युतिय भुक्तानीका माध्यमहरूबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।