एनआईसी एशियाको छैठौं बन्दमुखी योजनाको इकाई बाँडफाँड सम्पन्न, कसले कति पाए ?

काठमाडौं । एन आई सी एशिया क्यापिटलको योजना व्यवस्थापन तथा निष्काशन एवं बिक्री प्रबन्धकत्वमा सञ्चालन हुन लागेको छैठौँ बन्दमुखी योजना ‘एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’को इकाई बाँडफाँड सम्पन्न भएको छ । 

प्रति इकाई अंकित मूल्य १० का दरले कूल ८ करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड २० लाख इकाई) कोष प्रवद्र्धक एन आई सी एशिया बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि असोज ७ गतेदेखि बिक्री खुला गरिएको थियो । 

सर्वसाधारणका लागि निष्काशन गरिएको इकाई पहिलो चार कार्यदिनमै मागभन्दा बढी आवेदन परेकाले असोज १३ गते नै बिक्री बन्द गरिएको थियो । 

उक्त अवधिमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमार्फत ४१ हजार १८९ जना आवेदकबाट कूल ८ करोड ७४ लाख ४४ हजार २०० इकाई (मागभन्दा १.२९ गुणा बढी) का लागि आवेदन परेको थियो ।

प्राप्त आवेदनहरु छानबिन गर्दा ४७ जना आवेदकको ६ हजार २०० इकाई बराबरको आवेदन रितपूर्वक नदेखिएकाले रद्द गरिएको र बाँकी ४१ हजार १४३ आवेदकबाट बीज पूँजीसहित कूल १ अर्ब २ करोड ४३ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन सदर भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन प्राप्त भएकाले धितोपत्र बोर्डको स्वीकृत विवरण पत्र तथा सामूहिक लगानी कोष निर्देशिका, २०६९ बमोजिम फण्डको आकार २५ प्रतिशतले वृद्धि गरी ८० करोडबाट १ अर्ब रुपैयाँ कायम गरिएको छ ।

बुधबार क्यापिटलको कार्यालय थापाथलीमा गरिएको बाँडफाँड अनुसार १०० इकाईदेखि ३० लाख इकाईसम्म माग गर्ने आवेदकलाई मागबमोजिम र ४० लाखदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकलाई ३८ लाख ९० हजार ५२५ इकाईका दरले इकाई बाँडफाँड गरिएको छ । 

बाँडफाँडको नतिजा निष्काशनकर्ताको वेबसाइट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np तथा सिडिएससीका सम्बन्धित पोर्टलमार्फत हेर्न सकिने जनाइएको छ।

Share News