नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ ।  यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्ने सक्नेछन् ।  यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेको छ । बाइ नउ प्ले लेटर मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शुन्य ब्याजदरमा सामान खरिद गर्र्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले नबिल बैंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम  प्रिन्ट क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ । 

सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन)बीच नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एस्पायरिङ अवार्ड’ स्थापना गर्ने सहमति भएको छ । बिहीबार एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एमएएनका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका हुन् । यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने बताइएको छ । पुरस्कारको रकम ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुने र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने बताइएको छ । सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ । पुरस्कार हरेक वर्ष माघ महिनामा एमएएनको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने बताइएको छ ।

महालक्ष्मी विकास बैंककाे ‘स्क्यान टु क्यास’ सेवा सुरु, डिजिटल भुक्तानीमा नयाँ आयाम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपालमा पहिलो पटक विकास बैंकको हैसियतमा ‘स्क्यान टु क्यास’ सेवा सुरु गरेको छ । फोन पेको सहकार्यमा सञ्चालनमा ल्याइएको यस सुविधामार्फत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर नगद निकाल्न सक्ने छन् । सेवाको प्रारम्भिक चरणमा दरबारमार्ग र थापाथली शाखाबाट सुरू गरिएको यो सेवा छिट्टै देशभरका शाखाहरूमा विस्तार गरिने बैंकले जनाएको छ । यस सुविधाले परम्परागत चेक वा एटीएम कार्ड प्रयोगको झन्झट हटाउने र नगद झिक्ने प्रक्रियालाई अझ सहज र डिजिटल बनाउने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रसर महालक्ष्मी विकास बैंकले यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलिपे प्लस नेटवर्कमार्फत क्रस(बोर्डर क्यूआर भुक्तानी सेवा पनि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतबाट आएका पर्यटकहरूले नेपालमा नेपालपे क्यूआर स्क्यान गरी आफ्नै देशको डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्ने छन् । ग्राहक अनुभवलाई थप सहज बनाउन बैंकले 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिसकेको छ । जसले डिजिटल बैंकिङ्ग सेवामा नयाँ परिष्कार ल्याएको छ ।