आज मन्त्रिपरिषद् बैठक बस्दै, एजेण्डामा गभर्नर नियुक्त पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले सरकारी निवास बालुवाटारमै बिहीबार साँझ बस्ने गरी बैठक बोलाएका हुन् ।

बिहीबारको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय मुख्य एजेण्डा भएको बुझिएको छ । बैठकमा भारत र पाकिस्तानबीच बढ्दो तनाव, आगामी आर्थिक वर्षको बजेट तयारी, सरकारका तर्फबाट हालसम्म भएका कार्यान्वयनका अवस्थाहरू र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बुझिएको छ । 

नेपाल राष्ट्र बैंकले लामो समयदेखि गभर्नर पाउन सकेको छैन । सत्ता साझेदार दुई दल नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबण्डा नमिलेर रोकिएको प्रक्रिया अहिले भने टुङ्गिएको बताइएको छ ।

मंगलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर काँग्रेसको भागमा परेको र चाँडै नियुक्त हुने बताएका थिए । उनले राष्ट्र बैंककै आन्तरिक कारणले प्रक्रिया लम्बिएको धारणा राखेका थिए । 

कार्यवाहक गभर्नर निलम ढुङ्गानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्दा प्रक्रिया लम्बिएको बताइएको छ । सम्भवतः गभर्नर सिफारिस समितिले आजै तीन जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद् बैठकले पनि आजै गभर्नर नियुक्त गर्न सक्नेछ । 

Share News