काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरको भागबण्डा मिलिसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गभर्नरको भागबण्डा मिलाइसकेकाे बताउँदै उनले गभर्नर कांग्रेसको भागमा परेको खुलाएका हुन् ।
‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिलाइको कारण ओलीजी र म होइन, ओलीजीले कांग्रेसलाई दिने भनिसक्नु भएको छ,’ उनले भने ।
यस्तै, सभापति देउवाले राष्ट्र बैंककै आन्तरिक कारणले गभर्नर नियुक्ति प्रक्रिया ढिलाइ भएको धारणा राखे । उनले कार्यवाहक गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्दा समस्या भएको संकेत गरेका हुन् ।
यस्तै, उनले अहिले गठबन्धनमा कुनै समस्या नरहेको पनि बताएका छन् ।