चालु खाता २१० अर्ब बचतमा, वैदेशिक लगानी र पुँजी प्रवाहमा वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा देशको चालु खाता २१० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष १ अर्ब ३५ करोड डलरले बचतमा रहेको चालु खाता चालु वर्षको समीक्षावधिमा १ अर्ब ५५ करोड डलरले बचतमा पुगेको छ ।

त्यस्तै, समीक्षावधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो । साथै, प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) पनि ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २ अर्ब ४७ करोड रुपैयाँले बढी हो ।

शोधनान्तर स्थितिको हिसाबले यो अवधिमा ३४६ अर्ब २३ करोड रुपैयाँले बचत देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो बचत ३६५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडको बचतमा देखिएको छ । जुन अघिल्लो वर्षको २ अर्ब ७५ करोडको तुलनामा केही घटेको हो ।

Share News