तरलता घटाउन राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरण मार्फत २१ दिन अवधिका लागि यो रकम संकलन गरिनेछ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग लिने गरी आवेदन दिन सक्नेछन् ।

यस निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण गरिनेछ भने उक्त उपकरणमा लगानी गरिएका निक्षेपलाई राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

सङ्कलित निक्षेपको साँवा तथा ब्याज आगामी १८ जेठमा भुक्तानी गरिने जनाइएको छ । बैंकिङ प्रणालीमा तरलता सन्तुलन गर्न राष्ट्र बैंकले समय समयमा यस्ता मौद्रिक उपाय अवलम्बन गर्दै आएको छ ।

Share News