एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण, कमलादीबाट सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको प्रमुख आतिथ्यमा जेठ १० गते वैदिक सनातन विधिअनुसार पूजा-अर्चना गरी उक्त भवनको समुद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी यसअघि थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय कमलादीमा सारिएको हो । अबदेखि प्रमुख कार्यकारी अधिकृत, अन्य कार्यकारी अधिकृतहरू तथा विभिन्न विभागहरू यही भवनबाट सेवा प्रवाह गर्नेछन् । कार्यालय स्थानान्तरणसँगै ग्राहकहरू र सरोकारवालाहरूले बैंकका सम्पूर्ण सेवा तथा सुविधाहरू अझ सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

कामना सेवा विकास बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

काठमाडौं । कामना सेवा विकास बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिकाश ढुंगाना तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस तथा नेपाल पे कार्डका मा आवद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात कामना सेवा विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

शोधनान्तर साढे ३ खर्बले बचतमा, विदेशमा अध्ययन गर्न १ लाखले अनुमति लिए

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले र शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमो थियो ।  चालु आवको ९ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भइ १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि दर १५.२ प्रतिशत रहेको थियो ।   समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब ६ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा ९९ हजार ६६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । चालु आवको ९ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । चालु आवको ९ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ५.९२ प्रतिशत  थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत  थियो । गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो ।