नबिल बैंकले साउन ६ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, ब्याज ७ प्रतिशत
काठमाडौं । नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ बिक्री खुला गर्ने भएको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन २० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित रहेको संकेत गर्दछ ।
७ प्रतिशत ब्याज पाइने नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला
काठमाडौं । नेपाल एसबिआई बैंकले आज असार ३० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन १२ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, हकप्रद सेयरको अपेक्षाले उत्साहित
काठमाडौं । आइतबार एनआईसी एशिया बैंकको सेयर सर्वाधिक कारोबार भयो । कारोबार मात्रै होइन बैंकको सेयर मूल्य पनि सर्वाधिक अर्थात् सर्किट नै लाग्यो । बैंकको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ३६.८१ रुपैयाँ बढेर ४०५.४० रुपैयाँ पुगेको छ । साथै बैंकको ३७ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस्तै, नेपाल बैंकको सेयर मूल्य ५.६८ प्रतिशत अर्थात् १५.३८ रुपैयाँ बढेर २८६ रुपैयाँ पुग्यो भने १३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साथै, सानिमा बैंकको २५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एनआईसी एशिया, नेपाल बैंक र सानिामा बैंक मात्रै होइन, नेप्सेमा सूचीकृत १९ वटै बैंकको सेयर मूल्य बढेको छ । आइतबार बैंकिङ समूह ३.३७ प्रतिशत अर्थात् ४९.०९ अंक बढेर १ हजार ५०३.३१ अंक पुगेको छ । यसले लगानीकर्ताहरु बैंकिङ समूहमा आकर्षित भएको देखिन्छ । साथै, लघुवित्त समूहमा पनि लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । नेप्सेका अनुसार लघुवित्त समूह ३.५० प्रतिशत अर्थात् १७३.२२ अंक बढेर ५ हजार ११३.९१ अंकमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा बैंकिङ र लघुवित्त समूहप्रति सकारात्मक नीति आएपछि लगानीकर्ताहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् । लगानीकर्ता छोटेलाल रौनियार लघुवित्त संस्थाको लाभांशमा लगाइएको क्याप पुनरावलोकन र बैंकहरुको पुँजी वृद्धिको विषयले लगानीकर्ताहरु आकर्षित भएको हुन सक्ने बताउँछन् । ‘बैंक र लघुवित्त समूह बढेको देखिन्छ । दु्ई÷तीन वटा बैंक राम्रो बढेको छ । बजारले बैंकप्रति ध्यान दियो भने बजार माथि नै जाने हो । कारोबार पनि राम्रो भएको छ । बजार अझै राम्रो भएर जाने देखिन्छ,’ उनले भने, ‘सर्किट लाग्ने गरी मौद्रिक नीति आएको होइन । कतिपय विषय पेण्डिङमै छन् । तर, लघुवित्त संस्थाको लाभांशमा पुनरावलोकन र बैंकको पुँजी वृद्धिको विषय समावेश छ । अब बोनस बाँड्न सक्नेछन् ।’ उनका अनुसार राष्ट्र बैंकले बैंकहरुको पुँजी खुकुलो बनाउन हकप्रद सेयर जारी गर्न दिन सक्ने गरी मौद्रिक नीति आएको छ । त्यसकारण दबाबमा रहेका बैंकहरुलाई सहज हुने भएकाले लगानीकर्ताहरुको मनोबल बढेको उनले बताए । पुँजी कोष टाइटमा रहेका बैंकहरूलाई सहज बनाउने गरी मौद्रिक नीति आएपछि बैंकिङ समूह बढेको एक ब्रोकर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले विकासन्युजलाई बताए । बैंकको पुँजी वृद्धिका लागि राइट सेयर उपयुक्त विकल्प रहेको र लगानीकर्ताहरुले पनि राइट सेयरको अपेक्षा गरेपछि सेयर मूल्य र कारोबार बढेको उनको भनाइ छ । ‘मौद्रिक नीतिमा एउटा बुँदा छिराइदिएको छ । त्यो क्यापिटल बढाउने विषयले बैंकिङ समूह बढेको हुन सक्छ । त्यहाँ राइट सेयर त उल्लेख छैन । तर, क्यापिटल वृद्धिका लागि राइट सेयर नै सबैभन्दा उपयुक्त विकल्प हो । त्यसैले लगानीकर्ताहरु बैंकप्रति आकर्षित भएका हुन् । होइन भने बैंकिङ क्षेत्रमा अरु बढ्नुपर्ने आधार कुनै छैन,’ उनले भने । उनका अनुसार एनआईसी एशिया बैंक टाइट अवस्थामा रहेकाले हातखुट्टा बाँधेर बसेको छ । पुँजी वृद्धि गर्न पाउने भएपछि सहज एनआईसी एशिया बैंकलाई सहज हुने उनको भनाइ छ । अब क्यापिटल एडुकेसी टाइट भएका बैंकलाई मौद्रिक नीतिले सहज बनाएपछि चार्म देखिएको हो उनले बताए । एनआईसी एशिया बैंकका कम्पनी सचिव दीपेन कार्की बैंकको सेयर मूल्य र कारोबार बढ्ने गरी आन्तरिक निर्णय केही पनि नभएको बताउँछन् । तर, मौद्रिक नीति सकारात्मक आएपछि लगानीकर्ताहरु बैंकमा आकर्षित भएको उनको बुझाइ छ । ‘बैंकको सेयर मूल्यमा सर्किट लाग्नु र कारोबार धेरै हुनुमा केही कारण छैन । किन एनआईसी एशियाको सेयर मूल्य बढ्यो, हामीलाई पनि अचम्म लागिरहेको छ । किनभने बैंकभित्र त्यस्तो केही भएको छैन । सामान्य अवस्था नै छ । बैंकले आन्तरिक निर्णय गरेको पनि छैन । केही निर्णय गरेको भए सूचना आइहाल्छ,’ उनले भने, ‘राष्ट्र बैंकको मौद्रिक नीति सकारात्मक आएपछि त्यसको प्रभाव पारेको हुन सक्छ ।’ साथै, उनले बैंकको सेयर मूल्य अण्डर भ्यालू रहेको बताए । पुँजीका काधारमा बैंकको सेयर मूल्य ८÷९ सय रुपैयाँ हुनुपर्ने भएपनि अण्डर भ्यालू भएको उनको भनाइ छ । ‘त्यसै पनि हाम्रो बैंकको सेयर अण्डर भ्यालू छ । लो क्यापिटल नै हो एनआईसी एशिया । क्यापिटल खासै बढेको छैन,’ उनले भने, ‘सेयर मूल्य ४ सय रुपैयाँ मात्रै छ, बैंकको क्यापिटल १४ अर्ब ९१ करोड मात्रै छ । पुँजीका आधारमा बैंकको सेयर मूल्य ४ सय मात्रै हुँदैन नी त । कम्तिमा ८/९ सय रुपैयाँ सेयर मूल्य हुनुपर्ने हो ।’ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ अंकले बढेर २ हजार ७६० बिन्दुमा पुगेको छ । आज ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, आज १५८ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ । बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकको स्वीकृतिमा आवश्यकता अनुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ । साथै, लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।