काठमाडौं । नेपाली वायुसेवा कम्पनीहरूले हवाई जहाजका इन्जिन तथा पार्टपूर्जा आयात गर्दा ५ लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
संशोधित व्यवस्थाअनुसार नेपाली वायुसेवा कम्पनीहरूले सम्बन्धित नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिससहित आवश्यक कागजातका आधारमा प्रचलित व्यवस्था पालना गरी ५ लाख अमेरिकी डलरसम्मको अग्रिम भुक्तानी गर्न सक्नेछन् ।
यसरी अग्रिम भुक्तानी पठाउँदा विदेशी बैंकको बैंक जमानत आवश्यक नपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले आवश्यक कागजातका आधारमा उक्त भुक्तानी पठाउन सक्नेछन् ।
यसअघि वायुसेवा कम्पनीहरूले हवाई जहाजका इन्जिन वा पार्टपूर्जा आयात गर्दा १ लाख अमेरिकी डलरसम्म मात्रै अग्रिम भुक्तानी गर्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्थाले यस्तो भुक्तानीको सीमा पाँच गुणाले बढाएको हो ।