काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य सेवा लिँदा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
यसका लागि बैंकले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको हो । सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले मेदान्त अस्पतालका विभिन्न शाखामा उपचार गराउँदा छुट पाउनेछन् ।
बैंकका ग्राहकले नयाँ दिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका १३ शाखामा यो सुविधा लिन सक्नेछन् ।
छुट अस्पतालको ओपीडी सेवाअन्तर्गत डाक्टरको परामर्श, प्रयोगशाला तथा रेडियोलोजी सेवामा लागू हुनेछ । त्यस्तै, आईपीडी सेवाअन्तर्गत बेड शुल्क, प्रयोगशाला तथा रेडियोलोजी सेवा र मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा समेत छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
यो सुविधा लिनका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्नुपर्नेछ । अस्पतालमा उपलब्ध तोकिएका सेवामा मात्र लागू हुने यो सम्झौताले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बैंकको विश्वास छ ।