१६८ छोरीलाई प्रभु बैंकको मुद्दती खाता उपहार, २० वर्षका लागि ५ हजार रुपैयाँ जम्मा
काठमाडौं । बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत २ वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले रु पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरूप प्रदान गरिएको जनाएको छ । नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगर प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा ५ हजार रुपैयाँका दरले ८ लाख ४० हजार रुपैयाँ जम्मा गरिसकेको बताए । नगरपालिकाभित्रका १४ वटा वडामा जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक बागलुङ शाखामा खाता खोली नगद ५ हजार रुपैयाँ नगरपालिकाले जम्मा गरिदिएको हो । ‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘१३औँ नगर सभाद्वारा पारित नीति तथा कार्यक्रम अन्तर्गत अहिलेसम्म १६८ जना छोरीहरूको २० वर्षे मुद्दती खाता उपहार दिइएको छ, छोरी जन्माउनेलाई प्रोत्साहन गर्ने नगरको नीतिअनुसार हो, त्यही अनुसार मुद्दती खातमा चक्रीय ब्याज आउने गरी कार्यविधि निर्माण गरेर बैंकसँग सम्झौता गरिएको छ ।’ परिवारमा बचत गर्ने बानी बसाल्न नगरकी छोरी कार्यक्रम ल्याइएको उनको भनाइ छ । नगरको छोरी कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको हो । नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूका लागि एक पटक ५ हजार रुपैयाँ जम्मा गर्ने प्रावधान छ । सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ । नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका-२ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको थियो । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका उक्त कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दत्त कँडेलले जानकारी दिए । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको कँडेलको भनाइ छ ।
८ प्रतिशत ब्याज पाइने शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज असार ३२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन १४ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हिमालयन बैंकको एफपीओ बिक्री खुला, न्यूनतम १ हजार ५७० रुपैयाँ चाहिने
काठमाडौं । हिमालयन बैंकले आज असार ३२ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता बिक्री खुला गरेको हो । बैंकको हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ संस्थापक समूह र २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम बैंकले सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई एफपीओ जारी गर्न लागेको हो । बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा आवेदन दिनका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयरका लागि १ हजार ५७० रुपैयाँ जोहो गर्नुपर्नेछ । बैंकको एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पूर्ण आवेदन नपरेमा साउन १४ गतेसम्म आवेदन दिने समय लम्बिने जनाएको छ । बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।