एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।  यस समझदारीसँगै यस बैंकका ग्राहकले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए । यस अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, सर्जिकल ट्रिटमेन्ट्समा १५ प्रतिशत प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजिकल सर्भिसमा १५ प्रशित (सीटी र एमआरआई बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा रहेको छ ।  यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।  उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

अब शाखा धाउनु पर्दैन, बैंकले घरमै पुर्‍याउनेछ पैसा

काठमाडौं । तपाईंलाई पैसा चाहियो ? कि तपाईंसँग भएको नगद रकम बैंकमा जम्मा गर्नुपर्याे ? नयाँ चेक बुक आवश्यक परेको छ ? कि बैंक स्टेटमेन्ट हेर्नुपर्याे ? वा अन्य कुनै बैंक सेवाको खाँचो परेको छ ? तपाईंलाई यी वा यस्तै बैंकिङ सेवाको आवश्यकता परेको छ तर बैंकसम्म जान समय छैन ? अब काम व्यस्तताले बैंकसम्म जान सक्नु भएन भने ढुक्क हुनुस्, तपाईंको घरमै आएर बैंकिङ सेवा दिनेछ कामना सेवा विकास बैंकले । कामना सेवा विकास बैंकले विशिष्ट बचत खाता अन्तर्गत नेपालमै पहिलोपटक ‘डुअर स्टेप बैंकिङ सर्भिस’ प्रडक्ट ल्याएको छ । दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैंकिङ सुविधा लिन चाहने ग्राहकहरूका लागि बैंकले यो सुविधा ल्याएको हो । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत बैंकले नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधा ग्राहकको घर वा कार्यालयमा नै गएर प्रदान गर्ने नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनय दाहाल बताउँछन् । ‘यो प्रडक्ट मोबाइल एपमा नै उपलब्ध छ । कुनै पनि ग्राहकले बैंक खाता खोलि सकेपछि नगद झिक्ने, झिक्ने​​​​​​ जम्मा गर्ने, चेकबुक, स्टेटमेन्ट लगायत सेवा आवश्यक पर्याे भने मोबाइल एपबाटै अर्डर वा रिक्वेस्ट गर्न सक्नु हुन्छ । त्यसपछि ग्राहकले मागेको सुविधालाई बैंकले सम्बन्धित ग्राहक भएको ठाउँमा डेलिभरी गर्नेछ,’ डीसीईओ दाहालले भने । उनका अनुसार यो सुविधा सहकारी संस्थाले दिने भन्दा नितान्त फरक छ । कसरी भन्दा यस योजनामा सबै रेकर्ड हुन्छ । कुन समयमा अर्डर गरिएको छ भनेर समय पनि देखिन्छ । जस्तो कुनै ग्राहकलाई पैसा जम्मा गर्नुपर्नेछ भने सम्बन्धित ग्राहकले आफ्नो मोबाइल एपबाट अर्डर गर्नुपर्ने हुन्छ । त्यसपछि बैंकका कर्मचारीहरू ग्राहक भएको ठाउँमा पुगेर उक्त रकम ल्याएर बैंकमा जम्मा गरिदिने छन् ।​​​​​​ योजनामा जोखिम कति ?  डीसीईओ दाहालका अनुसार यस योजनामा जोखिम छैन । जस्तो नगद माग गर्नु भएको छ भने ग्राहकले पैसा पाएपछि मात्रै स्क्यान गरेर ओटीपी कोड राखेपछि मात्रै रकम खाताबाट काटिनेछ ।  ‘रिक्वेस्ट गर्ने बित्तिकै रकम काटिने भन्ने हुँदैन । ग्राहकले हातमा नगद पाइ सकेपछि मात्रै खाताबाट रकम काटिने हाे । यो सेवा अनलाईनमार्फत सामान खरिद गरे जस्तै हो,’ डीसीईओ दाहालले भने, ‘जस्तो कुनै ग्राहकले डेबिट कार्डको लागि रिक्वेस्ट गर्नु भयो । त्यो रिक्वेस्ट कहाँबाट आयो, कुन स्थानबाट रिक्वेस्ट आयाे, कुन स्थानमा डेलिभरी गर्नुपर्ने हो सबै विवरण बैंकलाई उपलब्ध हुन्छ । त्यो भेरिफाइ पनि गरिन्छ । त्यसपछि डेलिभरी गरेर ग्राहक भएकाे ठाउँमा पुर्याइन्छ । ग्राहकले मैले पाए भनेर स्क्यान गर्नुपर्ने हुन्छ । स्क्यान गर्दा ओटीपी कोड आउँछ । त्यो ओटिपी कोड माेबाइल एपमा राखेपछि मात्रै कन्फरमेसन हुन्छ ।’ यो प्रडक्टकाे के फाइदा ? डीसीईओ दाहालका अनुसार यस योजनामा बैंकिङ सेवा लिने ग्राहकलाई सबैभन्दा पहिला बैंकमा धाइराख्नु परेन । काममा व्यस्त रहेका मान्छेलाई समयको बचत हुने र घरमै बसेर बैंक सेवा पाउन सकिनेछ । साथै विदेशमा बसेका छोराछोरीहरूले नेपालमा रहेका आफ्ना आमाबुवालाई यस योजनाबाट फाइदा लिन सक्ने उनको भनाइ छ ।  ‘जस्तो छोराछोरी विदेशमा र आमाबुवा घरमा हुनुहुन्छ । आमाबुवालाई बैंक सेवा चाहियो भने विदेशमा भएका छोराछोरीले उताबाटै अर्डर गर्न सक्नु हुन्छ । व्यापारीहरू, कर्मचारी वा जो व्यस्त छन् र बैंकमा जान गाह्रो हुनेहरूका लागि होम बैंकिङ सुविधा उपयुक्त हुन्छ,’ उनले भने, ‘घरमै बैंकको सेवा सुविधा पाइने भएपछि ग्राहकहरू थपिने छन् । यसले निक्षेप खाता ग्राहक बढ्नेछन् ।’ डीसीईओ दाहालका अनुसार तत्कालका लागि उक्त सुविधा काठमाडौं उपत्यका भित्र मात्रै सञ्चालन हुनेछ । निकट भविष्यमा यस प्रडक्टलाई उपत्यका बाहिरी पनि विस्तार गरिने योजना रहेको उनको भनाइ छ । दाहालका अनुसार यस योजनामा लागत धेरै लाग्ने छैन । रिक्वेस्टका आधारमा जनशक्ति तयार रहेको उनले बताए । उनका अनुसार यो सुविधा हेड अफिसबाट सञ्चालन हुनेछ । ‘एक दिनमा १ सय जनाले खाता खोल्नु भयो भने एकै दिन १ सय जनाले सेवा लिनु हुन्छ भन्ने हुँदैन । कुनै ग्राहकले आज, कुनैले भोलि र कुनैले पर्सि सेवा लिनु हुन्छ होला । त्यसैले केही कर्मचारीलाई मात्रै राखिएको छ,’ डीसीईओ दाहालले भने । 

मितेरी डेभलपमेन्ट बैंकले खोल्यो मजर्रमा जाने ढोका, सेयरधनीलाई १२.१७ करोड रुपैयाँ नगद

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने निर्णय गरेको हो ।  मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक २३ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।