एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो लिलाम बिक्रीका सम्पत्तिहरूका लागि अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको उक्त अनलाइन पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको सम्पूर्ण विवरण—कित्तानम्बर, क्षेत्रफल, तस्बिर, नक्सा र स्थान पहिचानका लागि गुगल म्यापसहित हेर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरूले लिलाम सम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी सो पोर्टलमा सहज रूपमा प्रवेश गर्न सक्नेछन् । त्यस्तै, इच्छुक ग्राहकहरूले आफूलाई रुचि भएको सम्पत्तिको बारेमा थप जानकारी लिन पोर्टलमा उपलब्ध ‘म्यासेज बक्स’ प्रयोग गरी आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरेर सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ । बैंकले अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका विवरणहरू अद्यावधिक गर्दै जाने जनाएको छ । यसरी डिजिटल प्रणालीमार्फत लिलामसम्बन्धी जानकारी सार्वजनिक हुँदा पारदर्शिता र पहुँच दुवै सहज हुने बैंकको विश्वास छ ।

राष्ट्र बैंकबाट विदा भए गुणाकर, ‘अब विद्यार्थीलाई पढाउँछु’

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट राष्ट्र बैंकबाट विदा भएका छन् । उनी राष्ट्र बैंकबाट अनिवार्य अवकाशमा विदा भएका हुन् ।  राष्ट्र बैंक कर्मचारी सेवा नियमावली अनुसार कार्यकारी निर्देशक पदमा सात वर्षे कार्यकाल पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनी कात्तिक ५ गतेबाट राष्ट्र बैंकबाट विदा भएका हुन् ।  वि.सं २०५७ सालमा सहायक निर्देशकका रुपमा राष्ट्र बैंकमा प्रवेश गरेका उनले राष्ट्र बैंकमा साढे दुई दशक सेवा गरे । उनी २०७५ कात्तिकमा कार्यकारी निर्देशकका रुपमा काम सुरु गरेका थिए ।  यो अवधिमा उनले राष्ट्र बैंकको प्रवक्तासँगै आर्थिक अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभाग लगायतको नेतृत्व गरेर आफ्नो क्षमता देखाएका छन् ।  एक काविल अर्थशास्त्री र अनुभवी थिंकट्यांकका रुपमा आफूलाई चिनाएका भट्टको घर सुदूरपश्चिम हो । उनी राष्ट्र बैंकको गभर्नरको प्रतिस्पर्धामा पनि लागेका थिए । तर, त्यसमा उनी सफल हुन सकेनन् ।  भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट मास्टर्समा स्वर्ण पदक जितेका उनको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र, र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन्। उनले अब अवकाश जीव अध्ययन अध्यापनमा बिताउने बताएका छन् । ‘अब अध्ययन अध्यापनमा थप सक्रिय हुन्छु, सामाजिक काममा क्रियाशिल रहन्छु,’ उनले भने ।   

सानिमा बैंकको अध्यक्षमा पुनः पौडेल चयन, सञ्चालकमा पराजुली र कुम्पाख

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते सम्पन्न २१ औँ वार्षिक साधारण सभाबाट पौडेल सहित बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निर्वाचित भएका थिए । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः अध्यक्षमा चयन गरिएकाे कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिए ।  बन्जराका अनुसार साधारण सभाले एसएआर एसोसिएट्स चार्टर्ट एकाउन्टेन्टस्लाई चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न वाह्य लेखापरीक्षकमा नियुक्त गरिएको छ ।