१५ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो असोज १४ गते साधारण सभा

काठमाडौं । १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । 

सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

Share News