नेपाल एसबिआई बैंकले विराट बहिरा माध्यमिक विद्यालयमा गर्‍यो साढे २ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा डिप बोरिङ जडान गर्ने उद्देश्यले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । यस पहलले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सहज खानेपानीको व्यवस्थापन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । उक्त कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिना जोशी र प्रधानाध्यापक मिनु अधिकारी दाहाललाई संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख श्रीधर अधिकारी लगायत बैंक तथा विद्यालयका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस प्रकारका सामाजिक उत्तरदायित्व कार्यक्रमहरू समय समयमा गर्दै आइरहेको छ ।

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतका दरले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र बिक्री नभएमा पुस १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितलाई दियो न्यानो कपडा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । सोमबार आयोजित विभिन्न कार्यक्रममा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बाढी प्रभावितलाई बैंकका तर्फबाट कपडा हस्तान्तरण गरेका थिए । सूर्योदय नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा, तथा इलाम नगरपालिकाका बाढी प्रभावितका लागि १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापना दिवसको अवसरमा इलामका बाढी प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा अनुसार यो कार्यक्रम सम्पन्न गरेको हो ।