नेपाल बैंकको नाफा १३ हजार १७५ प्रतिशत बढ्यो, जगेडा कोष २४ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ६९२ प्रतिशत बढेर ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य नाफा ऋणत्मक रहेकाले बैंकले लाभांश पनि वितरण गर्न नसक्ने अवस्थामा छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९६ करोड ५० लाख ७४ हजार रुपैयाँ ऋणात्मक थियो ।  १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप १७.२८ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १३.८८ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ६६ करोड ७७ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ०.१९ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ ।   

कार्बन उत्सर्जनबारे बैंकहरुको रिपोर्ट कार्ड

काठमाडौं । ‘बैंकलाई जवाफदेही बनाउनुपर्छ, ग्रीन ट्याक्सोनोमी आइरहेको छ । अब ग्रिनिङतर्फ लाग्नुपर्छ । अहिले मेजरमेन्ट (मापन) गरेपछि मात्रै थाहा हुने हो, कुन क्षेत्रमा कार्बन उत्सर्जन घटाउनुपर्छ, कुन क्षेत्रमा घटाउन मिल्छ भनेर । जसले बैंकलाई भविष्यमा थप रणनीति बनाउन सहज हुन्छ,’ एक बैंकरले विकासन्युजसँग भने ।  उद्योग तथा कम्पनीहरूले कार्बनडाइअक्साइड उत्पादन गरी वातावरण प्रदूषण भइरहेको हुन्छ । बैंकहरूले लगानीबाट कुन क्षेत्रबाट कति कार्बन उत्सर्जन भइरहेको छ भन्ने विषयमा आधारित रहेर अध्ययन प्रतिवेदन (अडिट रिपोर्ट) सार्वजनिक गरिरहेका छन् । अन्तर्राष्ट्रिय संस्था पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल (पिक्याप)सँगको सहकार्यमा नेपाली बैंकहरुले जलवायु वित्त तथा उत्सर्जन खुलासा प्रतिवेदन (क्लाइमेट फाइनान्स एण्ड इमिजन डिस्क्लोजर रिपोर्ट) तयार पारेर सार्वजनिक गरिरहेका हुन् । ‘बैंकले सिमेन्ट उद्योग, स्टील उद्योग, कृषि, सवारी लगायत क्षेत्रमा कर्जा दिएको हुन्छ । सबै क्षेत्रका उद्योग तथा कम्पनीले कार्वन उत्सर्जन गरिरहेको हुन्छन् । बैंकले कर्जा प्रवाह गरेका उद्योग तथा कम्पनीले कति कार्वन उत्सर्जन गरिरहेका छन् ? त्यसको एकाउन्टिङ बैंकहरुले गरिरहेका हुन्,’ एक बैंकरले भने, ‘बैंकले जलविद्युत, ग्रीन इनर्जी, विद्युतीय सवारी (ईभी)मा पनि लगानी गरिरहेका छन् । जसले कार्बन उत्सर्जनलाई न्यूनीकरण गरिरहेको छ ।’  उनका अनुसार जस्तो १ अर्ब रुपैयाँको कम्पनीमा १० करोड रुपैयाँ बैंकको लगानी छ भने सो कम्पनीले उत्सर्जन गर्ने कार्वनको १० प्रतिशत हिस्सा बैंकले लिनुपर्ने हुन्छ । जस्तै, कुनै गाडीले एक वर्षमा १० टन कार्वन उत्सर्जन (वातावरण प्रदूषण) गर्छ । यदि त्यो गाडीमा बैंकको ७० प्रतिशत लगानी छ भने ७० प्रतिशत प्रदूषणको हिस्सा बैंकको हुन आउने उनले बताए ।  साथै बैंकहरुले नवीकरणीय ऊर्जा, विद्युतीय सवारी लगायत क्षेत्रमा पनि लगानी गरिरहेको छ । जसले कार्वन उत्सर्जन न्यूनीकरणमा ठूलो योगदान पुर्याइरहेको छ । बैंकको लगानीबाट नवीकरणीय ऊर्जाले कति कार्वन न्यूनीकरण गरिरहेको छ, त्यो हिस्सा पनि बैंकको हुन आउने उनको भनाइ छ । हालसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, नबिल बैंकले क्लाइमेट फाइनान्स एण्ड इमिजन डिस्क्लोजर रिपोर्ट सार्वजनिक गरेका छन् ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले सिमेन्ट, आइरन एण्ड स्टिल, एयर ट्रान्सपोर्ट र टेलिकम क्षेत्रलाई समेटेर जलवायु वित्त र उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । विसं २०८१ असारसम्म यी ४ वटा क्षेत्रमा बैंकले २८९.७५ मिलियन यूरो लगानी गरेका छन् । जसबाट ३ लाख २८ हजार ६५.८६ टन कार्वन उत्सर्जन भइरहेको प्रतिवेदनमा उल्लेख छ ।  बैंकका अनुसार सिमेन्ट उद्योगमा १२७.०२ मिलियन यूरो लगानी छ । सो लगानीबाट २ लाख ५९ हजार ६८९ टन कार्बन उत्सर्जन भइरहेको बैंकले जनाएको छ । यस्तै, आइरन एण्ड स्टिल उद्योगमा १०८.२७ मिलियन यूरो लगानी गर्दा ३९ हजार ७६४ टन, एयर ट्रान्सपोर्टमा ३९.७७ मिलियन यूरो लगानी गर्दा २८ हजार २५४ टन र टेलिकममा १४.६९ मिलियन यूरो लगानी गर्दा ३५७ टन कार्वन उत्सर्जन भइरहेको बैंकले जनाएको छ ।  साथै, २०८१ असारसम्म जलविद्युत क्षेत्रमा बैंकले ११७.२३ मिलियन यूरो लगानी गरेको छ । जसले गर्दा १२ हजार ९२८ टन कार्वन उत्सर्जन न्यूनीकरण (घटाएको) बैंकको प्रतिवेदनमा उल्लेख छ ।  लक्ष्मी सनराइज बैंक  लक्ष्मी सनराइज बैंकले मोटर भेइकल लोन (सवारी कर्जा), मोर्टगेज (घरकर्जा), विजनेश लोन र प्रोजेक्ट फाइनान्स (जलविद्युतबाहेक)मा कार्वन उत्सर्जन सम्बन्धी लेखापरीक्षण गरेको छ । वि.सं २०८१ असारसम्म यी क्षेत्रमा बैंकले १ हजार २२२.२५ मिलियन यूरो लगानी गरेको छ । जसबाट २ लाख २ हजार १३.४२ टन कार्वन उत्सर्जन भइरहेको बैंकले जनाएको छ ।  बैंकका अनुसार मोटर भेहिकलमा १०.८२ मिलियन यूरो लगानी गर्दा १ हजार ५२८.९८ टन, मोर्टगेज (घरकर्जा)मा ९५.३५ मिलियन यूरो लगानी गर्दा ९ हजार ४८५.४६ टन, बिजनेश लोनमा ८७४.२६ मिलियन यूरो लगानी गर्दा १ लाख ९० हजार २९३.४२ टन र प्रोजेक्ट फाइनान्समा ९५.१० मिलियन यूरो लगानी गर्दा ७०५.५६ टन कार्वन उत्सर्जन भएकाे छ ।  बैंकका अनुसार जलविद्युत क्षेत्रमा १४६.७३ मिलियन यूरो लगानी गर्दा २० हजार ३४७.११ कार्वन उत्सर्जन घटेको छ ।  एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले विजनेश लोनमा प्रवाह भएको कर्जामा कार्बन उत्सर्जन सम्बन्धी लेखापरीक्षण गरेको छ । बैंकले ९३.३३ मिलियन यूरो विजनेश कर्जा प्रवाह गरेको छ । सो आधारमा २९ हजार ७९९.५९ टन कार्वन उत्सर्जन भएको बैंकले जनाएको छ । बैंकका अनुसार नवीकरणीय ऊर्जा (जलविद्युत)मा २१.६३ मिलियन यूरो लगानी गर्दा २००.७३ टन कार्वन उत्सर्जन घटेको छ ।  सानिमा बैंक सानिमा बैंकले २२८.३७ मिलियन यूरो प्रोजेक्ट फाइनान्स र कर्पाेरेट लोन प्रवाह गर्दा १ लाख ४८ हजार ८३२.६२ टन कार्बन उत्सर्जन भएको जनाएको छ । बैंकका अनुसार प्रोजेक्ट लोनमा ६९.६९ मिलियन यूरो लगानी गर्दा ६२ हजार ५७७.९२ टन र कर्पाेरेटमा १५८.६८ मिलियन यूरो लगानी गर्दा ८५ हजार ८५४.७० टन कार्वन उत्सर्जन भएको छ ।  साथै बैंकले जलविद्युतमा ८२.९३ मिलियन यूरो लगानी गरेर १४ हजार ८३०.९६ टन कार्बन न्यूनीकरण गरिरहेको जनाएको छ ।  ग्लोबल आइएमई बैंक  ग्लोबल आइएमई बैंकले विजनेश लोन र प्रोजेक्ट फाइनान्समा १ हजार २०६.७० मिलियन यूरो लगानी गरेको छ । जसबाट ४ लाख ५६ हजार ७२९ टन कार्बन उत्सर्जन भएको बैंकको तथ्याङ्क छ । बैंकका अनुसार बिजनेश लोन ९७२.२९ मिलियन यूरो प्रवाह गर्दा १ लाख ६४ हजार ५००.७० टन र प्रोजेक्ट फाइनान्स २३४.४१ मिलियन यूरो लगानी गर्दा २ लाख ९२ हजार २२९.२२ टन कार्वन उत्सर्जन भएको छ । साथै बैंकले नवीकरणीय उर्जामा बैंकले १३५.६८ मिलियन यूरो लगानी गर्दा १ लाख १६ हजार ५३०.४१ टन कार्बन उत्सर्जन न्यूनीकरण गरेको जनाएको छ । जसमा जलविद्युतमा १२९.०२ मिलियन यूरो लगानी गर्दा १ लाख १६ हजार २१३.०५ टन र सोलारमा ६.६६ मिलियन यूरो लगानी गर्दा ३१७.३७ टन कार्बन न्यूनीकरण गरेको बैंकले जनाएको छ ।  सिद्धार्थ बैंक सिद्धार्थ बैंकले प्रोजेक्ट फाइनान्स र बिजनेश लोनमा कार्वन उत्सर्जन अडिट गरेको छ । बैंकले ८८३ मिलियन यूरो लगानी गर्दा २ लाख २३ हजार ५३१ टन कार्बन उत्सर्जन गरेको छ । बैंकका अनुसार १२८.४५ मिलियन यूरो प्रोजेक्ट फाइनान्समा लगानी गर्दा ४२ हजार ४५५.०५ टन र ७५४.७५ मिलियन यूरो बिजनेश लोन प्रवाह गर्दा १ लाख ८१ हजार ७५.७९ टन कार्बन उत्सर्जन भइरहेको छ ।  साथै बैंकले नवीकरणीय ऊर्जामा ८७.५८ मिलियन यूरो लगानी गर्दा ३ हजार ७९८.४९ टन कार्वन न्यूनीकरण गरेको जनाएको छ ।  नबिल बैंक नबिल बैंकले सिमेन्ट, एयर ट्रान्सपोर्ट र टेलिकम क्षेत्रलाई समेटेर कार्बन उत्सर्जनसम्बन्धि प्रतिवेदन तयार पारेको छ । बैंकले विसं २०८१ असारसम्ममको तथ्याङ्कका आधारमा यी तीन क्षेत्रमा ९०.७५ मिलियन अमेरिकी डलर लगानी गर्दा १ लाख ८० हवार ८५१.१६ टन कार्वन उत्सर्जन भइरहेको जनाएको छ ।  सिमेन्ट उद्योगमा ५६.०९ मिलियन अमेरिकी डलर लगानी गर्दा १ लाख ७५ हजार ३५९.४८ टन, एयर ट्रान्सपोर्टमा १४.६९ मिलियन अमेरिकी डलर लगानी गर्दा ५ हजार ३९.७७ टन, टेलिकममा १९.९६ मिलियन अमेरिकी डलर लगानी गर्दा ४५१.९१ टन कार्बन उत्सर्जन भएको बैंकले जनाएको छ । साथै, बैंकले नवीकरणीय ऊर्जामा १२४.०४ मिलियन अमेरिकी डलर लगानी गर्दा ११ हजार १७२.०३ टन कार्वन उत्सर्जन न्यूनीकरण गरिरहेको जनाएको छ । बैंकका अनुसार जलविद्युतमा ११९.४२ मिलियन अमेरिकी डलर लगानी गर्दा १० हजार ९८८.३१ टन कार्वन न्यूनीकरण र सोलारमा ४.६२ मिलियन अमेरिकी डलर लगानी १८३.७२ टन कार्वन उत्सर्जन घटेको छ ।  एनएमबि बैंक  एनएमबि बैंकले विजनेश लोन र प्रोजेक्ट फाइनान्स लोनमा कार्बन अडिट गरेको छ । बैंकले १ हजार १६४.२६ मिलियन अमेरिकी डलर बिजनेश र प्रोजेक्ट फाइनान्समा लगानी गर्दा २ लाख ९७ हजार ७२३ टन कार्वन उत्सर्जन भएको जनाएको छ ।  बैंकका अनुसार ८८३.२२ मिलियन अमेरिकी डलर बिजनेश लोन प्रवाह गर्दा १ लाख ६१ हजार ११४ टन र २८१.०४ मिलियन अमेरिकी डलर प्रोजेक्ट फाइनान्समा लगानी गर्दा १ लाख ३६ हजार ६०९ टन कार्वन उत्सर्जन भइरहेको छ ।  साथै बैंकले नवीकरणीय ऊर्जामा ९५.९ मिलियन अमेरिकी डलर लगानी गर्दा ४ हजार ६५९ टन कार्वन न्यूनीकरण गरेको जनाएको छ । जसमा जलविद्युतमा ९२ मिलियन अमेरिकी डलर लगानी गर्दा ४ हजार ५१४ टन र सोलारमा ३.९ मिलियन अमेरिकी डलर लगानी गर्दा १४५ टन कार्बन न्यूनीकरण गरेको बैंकको तथ्याङ्क छ ।  यो रिपोर्टले भविष्यमा कार्बन ट्रेड गर्न सहयोग पुग्ने भएकाले अहिलेदेखि नै तयारीमा जुटेको बैंकरहरू बताउँछन् । बैंकहरू कार्बन ट्रेड गर्न सक्षम भएपनि स्पष्ट कानुनी व्यवस्था नरहेकाले कार्बन कारोबार हुन नसकेको उनीहरूको भनाइ छ ।  ‘निश्चित दरमा कार्बन ट्रेड गर्न मिल्छ । हामी कार्वन ट्रेड गर्ने अवस्थामा पनि छौं । तर, गाइडलाइन आइसकेको छैन । हामी गाइडलाइनको पर्खाइमा रहेका छौं । सरकारले कानुनी व्यवस्था गरिरहेको छ । त्यसपछि हामीले पनि कार्बन ट्रेडिङ गर्न मिल्छ,’ एक बैंकरले भने, ‘अहिले बाहिरका संस्थाहरूसँग आफै डिल गरेर बिक्री गरिरहेका छन् । कार्बन ट्रेड गरेर आएको रकम बैंकले मात्रै लिने होइन, त्यो रकम ग्राहकलाई रिटर्न दिने हो ।’

ग्लोबल आइएमई बैंकको लाभांश क्षमता १४.११ प्रतिशत, नाफा ६ अर्ब २० करोड रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ८५ करोड ६३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १४.११ प्रतिशत देखिन्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५० करोड ६७ लाख १८ हजार रुपैयाँ मात्रै थियो ।  ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २४ अर्ब २१ करोड लाख ५ हजार हजार रुपैयाँ रहेको छ ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.१२ प्रतिशत बढेर ३ अर्ब २२ करोड २० लाख ४० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेर २१ अर्ब २७ करोड ६४ लाख ३१ हजार रुपैयाँ, सञ्चालन नाफा २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड ५ लाख ७८ लाख रुपैयाँ छ ।  गत वर्ष बैंकको निक्षेप संकलन १२.९५ प्रतिशत बढेर ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख ३८ हजार रुपैयाँ र कर्जा लगानी ११.४६ प्रतिशत बढेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ खर्ब ८७ अर्ब ४५ करोड ५८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब ४२ करोड ४५ लाख १९ हजार रुपैयाँ लगानी गरेको थियो ।  बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६.९९ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ ।  अघिल्लो वर्ष ४.१७ प्रतिशत रहेको खराब कर्जा बढेर ४.८७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ९.६१ प्रतिशत रहेको छ ।